पूर्वी नवलपरासीका पहाडी गाउँमा कफी खेती गर्ने किसानको सङ्ख्या बढ्न थालेको छ । थोरै लगानीमा कफी खेती गर्न थालेका किसानले अहिले व्यवसायिक रुपमा गर्न थालेका छन् । उत्पादनमा राम्रो र आम्दानी बढ्दै गएकाले वर्षौंदेखि व्यावसायिक कफी खेतीतर्फ आकर्षित भएको किसानले बताए ।

हुप्सेकोट गाउँपालिकाका डाँडाझेरी, कोठ्ठर, बुलिङटार गाउँपालिकाको जौबारी र बौदिकाको नराम, रुचंगा, बबक, धौवादीका पहाडी गाउँमा अहिले किसान कफी खेतीतर्फ आकर्षित भएको हुप्सेकोट गाउँपालिकाका उपाध्यक्ष पूर्णसिंह राना मगरले बताए । 

बौदिकाली गाउँपालिकाकी कमला गुरुङले चार वर्षदेखि कफी खेती गर्दै आएकी छन् । करिब तीन सय कफीका बिरुवा रोपेकी गुरुङले यसबाट राम्रो आम्दानी गरेको बताइन् । पहाडी क्षेत्रमा गत वर्षको तुलनामा यस वर्ष कफी खेती राम्रो भएको र कफी खेतीबाट किसान सन्तुष्ट रहेको उनले बताइन् ।

हुप्सेकोट गाउँपालिकाकी तुलिसारा राना मगरले २ सय कफी बिरुवा खेती गरेका छन् । पहाडका चिसो क्षेत्रमा कफी रोप्न सकिने र यसले राम्रो आम्दानी गरिरहेको बताउँदै रानामगरले आगामी वर्ष कफी खेतीलाई विस्तार गर्ने योजना रहेको बताइन् ।

नवलपुर जिल्लामा ११ हेक्टरमा व्यावसायिक कफी खेती हुने कृषि ज्ञान केन्द्रको तथ्यांक छ । जिल्लामा करिब ५ सय किसान कफी खेतीमा संलग्न छन् । प्रति हेक्टर कफी उत्पादन ०.८ टन रहेको छ ।

कफी खेतीको प्रचुर सम्भावना रहेको यस जिल्लामा कफीको वैज्ञानिक, दिगो र व्यावसायिक उत्पादन र उत्पादकत्वका लागि कावासोतीमा दुई दिने तालिम पनि सञ्चालन गरिएको छ । तालिमको उद्देश्य सम्भावित कृषकहरूलाई कफी उत्पादनका अवसरहरू र फाइदाहरू बारे शिक्षित गर्नु र उनीहरूलाई यसको खेतीमा व्यावसायिक रूपमा संलग्न हुन उत्प्रेरित गर्नु हो।