कञ्चनपुरको नगरपालिका तोरीको तेलको ब्रान्डिङ गर्दै
२०८० माघ २३, मंगलवार २०:२६
कञ्चनपुरको बेलौरी नगरपालिकाले सम्झौता बहुउद्देश्यीय सहकारी संस्थासंग तोरीको तेल ‘ब्रान्डिङ’ , ‘लेभलिङ’ तथा ‘प्याकेजिङ’ उद्योग सञ्चालनमा गरेको छ
नगरपालिकाको १५ लाख, सङ्घीय सरकारको सर्शत अनुदान १० लाख र सहकारीको पाँच लाख गरी ३० लाखमा उद्योग सञ्चालनमा ल्याइएको हो ।
नगरपालिका क्षेत्रमा उत्पादन हुने तोरी किसानबाट खरिद गरी उद्योगमा प्रशोधन गरी उपभोक्ताको घरघरमा तोरीको तेल पुर्याउने उद्देश्यले उद्योग सञ्चालन गरिएको छ । उद्योग सञ्चालनमा आएपछि तोरी बिक्रीका लागि किसानलाई सहज हुने भएको छ ।
बजारमा पाउने मिसावट भएको तेललाई विस्थापित गरी उपभोक्ताको स्वास्थ्यमा सुधार ल्याई नगरपालिकाले आफ्नो छुट्टै पहिचान भएको तोरीको तेल ब्रान्डिङ गरेर बजारमा ल्याई बिक्रीवितरण गर्ने उद्देश्य राखेको सहकारीका अध्यक्ष सीता चौधरीले बताइन् ।
”दुई किलो ५० ग्राम तोरीबाट एक लिटर तेल उत्पादान हुन्छ, यसमा तोरीको मूल्य दुई सय ८०, बोतलसँगै बिर्को र ढुवानी १३, स्टिकर १२, श्रम लागत १३ गरी तीन सय २३ मा तेल बिक्री मूल्य राखेका छौँ’, उनले भनिन्, ‘उद्योगलाई मुनाफाका रूपमा खली पिना रहेको छ, यसको मूल्य प्रतिकिलो लगभग ३४ छ ।’
सहकारीका लेखा संयोजक मनराज उपाध्यायले उद्योग सञ्चालनमा आइसकेकाले तत्कालै तेलको ब्रान्डिङ, प्याकेजिङ गरी बजारमा ल्याउन लागेको जानकारी दिए । उनका अनुसार उद्योगको दैनिक पाँच सय लिटर प्रशोधित तेल उत्पादन गर्ने क्षमता छ । सहकारीले उपसमिति बनाएर उद्योग सञ्चालन र व्यवस्थापनको कार्य अगाडि बढाउने उनले बताए ।




