उदाहरणीय कृषिमन्त्रीको लोभलाग्दो गोलभेँडा खेती
२०८० माघ २४, बुधबार १४:१३
राजनीति गर्ने अनि माथिल्लो पदमा पु्ग्ने अनि ठूला ठूला आदर्श छाट्नेमा अपवाद वन्दै उदाहरण झैं वने गण्डकी प्रदेश सरकारका कृषि तथा भूमि व्यवस्थामन्त्री महेन्द्रध्वज जिसीले राजनीतिसँगै अब्बल कृषकका रूपमा पनि आफूलाई परिचित गराउनुभएको छ । देवचुली नगरपालिका–१७ का मन्त्री जिसी यस वर्ष १० बिघामा गोलभेँडा, २० बिघामा धान खेती र १० बिघामा तरकारी खेती गरेर राम्रो आम्दानी लिन सफल हुनुहुन्छ ।
अहिले २० बिघाभन्दा बढी जग्गामा गोलभेँडा र तरकारी लटरम्म फलेका छन् । यो लोभलाग्दो तरकारी खेतीले स्थानीयलाई समेत तरकारी र गोलभेँडा बाहिरभन्दा कम मूल्यमा बिक्री गरिएको र त्यसले स्थानीयसमेत खुसी भएको स्थानीय भोजेन्द्र रायमाझीले बताउनुभयो । यस वर्ष करोडभन्दा माथिको तरकारी बिक्री हुने मन्त्री जिसीकी श्रीमती ईशा जिसीले बताईन् ।
वि स २०३७ सालदेखि तत्कालीन रजहर गाउँपञ्चायतको प्रधानपञ्च हुँदा उहाँ २३ वर्षको हुनुहुन्थ्यो । ६४ वर्षीय जिसी राजनीति र कृषि दुवै क्षेत्रमा सफल भएको मानिन्छ । रजहरमा मात्रै उहाँको ४० बिघा जग्गा रहेको छ ।
मन्त्री जिसीको यो जग्गा उहाँको बुवाको पैतृक सम्पत्ति हो ।
कर्मप्रति रमाउदै बाँझो जग्गा रहन नदिन हरेक वर्ष कुुनै न कुुनै कृषि बालीको उत्पादन गरिरहने मन्त्री जिसीको कुनै पनि जग्गा खाली रहँदैन । मन्त्री जिसी भन्नुहुन्छ, “बुवाको पैतृक सम्पत्ति पाँच भाइको भए पनि भाइ विदेशमा भएपछि ती सबै जग्गा उपयोगमा आइरहेका छन् ।”
अहिले गोलभेँडालगायतका तरकारी बजार पुर्याउने काम भइरहेको छ । मन्त्री अलिकति फुर्सद पाउनेबित्तिकै गाउँ गएर तरकारी बारीमा नै रमाउने गर्नुहुन्छ । तरकारी खेतीका लागि उर्वर भूमि रहेको देवचुली नगरपालिकामा सबैभन्दा बढी तरकारी उत्पादन नै मन्त्री जिसीको खेतबाट रहेको छ ।




