नेपालगन्ज उपमहानगरपालिकामा निर्माण भएका धेरै सार्वजनिक शौचालयहरू उचित व्यवस्थापन नहुँदा फोहोर र जीर्ण अवस्थाका कारण या त प्रयोग हुन नसक्ने वा प्रयोगमा आउन नसकेको अवस्था छ ।

सोही कारण व्यवस्थित रुपमा शौचालय सञ्चालनका लागि जनप्रतिनिधि र कर्मचारीबीच छलफल भएको थियो ।

सार्वजनिक शौचालय सञ्चालनका सम्बन्धमा एसएनभी नेपालको आयोजनामा ​​उपमहानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीबीच छलफल भएको नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले जानकारी दिए ।

उनले सार्वजनिक शौचालयको व्यवस्थित प्रयोग गरी सरसफाई र मर्मतसम्भारमा विशेष ध्यान दिनुपर्ने बताए ।

प्रवक्ता रिजालले धेरै सार्वजनिक शौचालय निर्माण भए पनि आवश्यक व्यवस्थापन र सुपरिवेक्षणको अभावमा जीर्ण बन्दै गएको समस्या समाधानका लागि छलफलमा सहभागी सबै गम्भीर रहेको बताए । छलफलमा सार्वजनिक शौचालयको उचित व्यवस्थापनका लागि कार्ययोजना बनाउनुपर्ने निष्कर्ष निकालिएको थियो ।

नेपालगन्ज उपमहानगरपालिकाले एसएनभी नेपालसँगको सहकार्यमा जीर्ण भएका दुईवटा सार्वजनिक शौचालयको पुनर्निर्माण गरेको छ । भेरी अस्पताल र वधशाला नजिकै दुईवटा सुलभ सार्वजनिक शौचालयको पुनर्निर्माण एसएनभी नेपालले गरेको हो ।

एसएनसी नेपालका अनुसार १८ लाख रुपैयाँमा शौचालय पुनर्निर्माण गरिएको हो । भेरी अस्पताल नजिकैको शौचालयमा बाथरुमको व्यवस्था गरिएको छ भने शौचालयलाई अपाङ्गमैत्री बनाइएको छ ।