पञ्चकोटमा ५ हजार ५५५ किलोको घण्टी जडान
२०८० फाल्गुन ५, शनिबार २०:३२
पर्यटन प्रवद्र्धन गर्न पञ्चकोटमा ५ हजार ५५५ किलोको घण्टी जडान यहाँको धार्मिक पर्यटन प्रवद्र्धन गर्न बागलुङको सर्वसिद्धधाम पञ्चकोटमा ५ हजार ५५५ किलो तौलको विशाल घण्टी जडान गरिएको छ ।
‘मुक्तिनाथ महाघण्टा’ नामको घण्टी गत हप्ता पञ्चकोटमा ल्याइएको थियो जहाँ सिसमहल, गण्डकी माताको मन्दिर, यज्ञशाला (यज्ञ गर्न) र भगवान हनुमानको विशाल मूर्ति जस्ता दर्जनौं धार्मिक पूर्वाधार छन्। विभिन्न दाता, स्थानीय सरकारको आर्थिक सहयोग र महायज्ञबाट सङ्कलन भएको रकममा २०७२ सालदेखि पञ्चकोटमा धार्मिक पूर्वाधार निर्माणको काम थालिएको हो ।
समुन्द्र सतहबाट १ हजार ७ सय ५० मिटर उचाइमा रहेको पहाडी क्षेत्र पञ्चकोटलाई धार्मिक पर्यटकीयस्थलका रूपमा विकास र प्रवर्द्धन गर्न घण्टी जडान गरिएको मुक्तिनाथ पिठाधीश्वर कमलनयनाचार्यले बताए । सुन, चाँदी, तामा, काँसा, फलाम जस्ता विभिन्न धातुबाट बनेको घण्टीको यही फागुन २१ गते यज्ञका अवसरमा औपचारिक रुपमा उद्घाटन गरिने उनले बताए । करिब दुई करोडको लागतमा उक्त घण्टी निर्माण गर्न आठ वर्ष लागेको उनले जानकारी दिए ।
घण्टीको आवाज बागलुङ, पर्वत, म्याग्दीलगायत मुस्ताङ जिल्लाका अधिकांश गाउँसम्म पुग्ने उनको दाबी छ । यो घण्टी निर्माणाधीन १०८ फिट अग्लो कलश नजिकै राखिनेछ। करिब आठ वर्षअघि तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले सो क्षेत्रमा धार्मिक पूर्वाधार निर्माणको शिलान्यास गरेका थिए । पञ्चकोटलाई धार्मिक पर्यटकीयस्थलका रूपमा विकास गर्न अहिलेसम्म रु ५० करोडभन्दा बढी खर्च भइसकेको सर्वसिद्धिधाम पञ्चकोट विकास परिषद्का अध्यक्ष दामोदर शास्त्री दाहालले जानकारी दिनुभयो ।
उनका अनुसार पर्यटकीय आकर्षण र धार्मिक संस्कृतिको संरक्षणका लागि थप पूर्वाधार निर्माण भइरहेको छ । दिनमा तीन सयदेखि चार सय पर्यटक भित्र्याउने पञ्चकोटमा नयाँ आकर्षण–मुक्तिनाथ महाघण्टासँगै पर्यटकको आगमनमा वृद्धि हुने अपेक्षा गरिएको छ ।




