बाजुराको माथिल्लो भेगमा वर्षासँगै हिमपात भएको छ । ६ महिनापछि भएको वर्षा र हिमपातले किसान हर्षित भएका छन् ।

उच्च पहाडी क्षेत्रका बुढीनन्द नगरपालिका, गौमुल गाउँपालिका, जगन्नाथ, बडिमालिका, खप्तड छेडेदह, स्वामीकार्तिक खापर नगरपालिका, त्रिवेणी नगरपालिकामा हिमपात भएको छ ।

हिमपात र वर्षासँगै तापक्रम घटेको छ । सोमबार रातिदेखि अधिकांश उच्च पहाडी क्षेत्रमा हिमपातका कारण जनजीवन प्रभावित भएको छ । बडिमालिका, बूढीनन्दा नगरपालिका र हिमाली गाउँपालिकाका उच्च पहाडी क्षेत्र यस वर्ष हिउँले ढाकेका छन् ।

तापक्रम एकाएक घटेपछि विद्यार्थीलाई आवतजावतमा समस्या भएपछि पठनपाठन र सिकाइ गतिविधि पनि प्रभावित भएको छ ।

जिल्ला कृषि ज्ञान केन्द्र बाजुराका कार्यवाहक प्रमुख मीनप्रसाद जैसीले हिउँदे वर्षाले विभिन्न बाली, फलफूल र तरकारी खेतीमा फाइदा पुग्ने भएकाले कृषकहरु खुसी रहेको बताए ।

बाजुरा जिल्लाको उत्तरी भेगका चार पालिका, हुम्ला, मुगु र कालिकोटका केही पालिकालाई भौगोलिक रुपमा जोड्ने मार्तडी सडकखण्डको यातायात सेवा हिमपातका कारण प्रभावित भएको छ ।