नेपाल चेम्बर अफ कमर्श (एनसीसी)ले क्यानडाका लागि नेपालका नवनियुक्त राजदूत भरतराज पौड्याललाई नेपाली सामानको क्यानडा निर्यात प्रवद्र्धनका लागि पहल गर्न आग्रह गरेको छ ।

बिहीबार काठमाडौंको जमलस्थित चेम्बर भवनमा भएको भेटमा एनसीसीका अध्यक्ष राजेन्द्र मल्लले राजदूत पौड्याललाई देशको निर्यात प्रवद्र्धनमा सहजीकरण गर्न आग्रह गरे ।

उनले भने, ‘नेपाली सामानको निर्यातका लागि क्यानडा राम्रो बजार बन्न सक्छ, गरगहना, पश्मिना, गलैंचा, चुर्पी, घिउलगायतका वस्तुको निकासी गर्न सहज भएमा विद्यमान व्यापार घाटा केही हदसम्म कम गर्न सकिन्छ ।

मल्लले नेपालबाट निर्यात हुने वस्तुको एकीकृत बिक्रीका लागि नेपाल हाउसको अवधारणा प्रयोग गर्नुपर्ने बताए ।

उनले नेपाल र क्यानडाबीच प्रत्यक्ष व्यापार सम्बन्ध कायम हुने गरी व्यापारिक वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए ।

यसका लागि सरकारी स्तरबाट पहल हुनुपर्ने उनको भनाइ छ ।

उनले पछिल्लो समय क्यानडामा नेपाली विद्यार्थीको सङ्ख्या बढ्दै गएको र अध्ययन गरेर कमाउने नीति राज्यका लागि फलदायी हुनुपर्ने बताए ।

उनले क्यानडामा अध्ययनरत वा बसेका प्रत्येक नेपालीबाट एकजना पर्यटक भित्र्याउने पहल गर्न सके यसले नेपालको पर्यटन क्षेत्रलाई फाइदा हुने बताए ।

मल्लले पौडेललाई क्यानडाको निजी क्षेत्रबाट लगानी भित्र्याउन भूमिका खेल्न पनि आग्रह गरे ।

उनले भने, ‘नेपालले वैशाखमा अन्तर्राष्ट्रिय लगानी सम्मेलन आयोजना गर्दैछ, पूर्वाधार, पर्यटन, ऊर्जा, सूचना प्रविधिलगायत नेपालको सम्भावना क्षेत्रमा लगानीका लागि पहल गर्न आवश्यक छ ।

भेटमा राजदूत पौड्यालले क्यानडामा आफ्नो मुख्य ध्यान नेपालमा व्यापार सहजीकरण र लगानी बढाउन रहेको बताए । उनले नेपाल र क्यानडाका निजी क्षेत्रबीच B2B बैठकको पहल गर्ने बताए ।