दुग्धजन्य पदार्थको आयातमा प्रतिबन्धको दुग्ध संघले स्वागत
२०८० फाल्गुन १३, आईतवार १२:५२
सरकारले दुग्धजन्य पदार्थ आयातमा लगाएको प्रतिबन्धको कोशी प्रदेशको दुग्ध उद्योग संघले स्वागत गरेको छ ।
संघसँग आवद्ध आठ ठूला दुग्ध उद्योगका सञ्चालकको शनिबार दमकमा बसेको बैठकले निर्णयको स्वागत गर्दै सरकारले दुग्धजन्य पदार्थ आयातमा लगाएको प्रतिबन्धले स्वदेशी दुग्ध उद्योगलाई राहत दिने बताएको हो ।
नि:शुल्क आयातका कारण स्थानीय उत्पादन बिक्री हुन नसकेको भन्दै सरकारले आयात बन्द गर्ने पछिल्लो निर्णयबाट हामी खुसी भएको संघका संयोजक रामचन्द्र उप्रेतीले बताए ।
यसैबीच संघले दुग्ध व्यवसायीबाट खरिद गरेको दूधको भुक्तानी नियमित गर्ने निर्णय गरेको छ । बैठकले आन्तरिक उपभोगका लागि स्थानीय उत्पादनलाई पहिलो प्राथमिकता दिने निर्णय गरेको छ ।
बैठकमा एनएमसी डेरी उद्योग, सगरमाथा डेयरी संघ, कामधेनु डेरी सहकारी, ऋतिका डेरी उद्योग, शिवम् डेरी उद्योग, गोरस डेरी ,जीवन विकास डेयरी र मदनी मिल्क हाउसका सञ्चालकहरुको सहभागिता रहेको थियो ।




