कर्णाली प्रदेश सरकारले कृषिमा विषादीको प्रयोगलाई निरुत्साहित गर्ने उद्देश्यले अभियान थालेको छ ।

 कृषकमा विषादीको बढ्दो प्रयोगलाई मध्यनजर गर्दै त्यसको हानिकारक असर विरुद्ध जनचेतना जगाउन ‘कीटनाशक मुक्त सप्ताह’ आयोजना गरिएको हो ।

अभियानको शुरुवात गर्दै भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले कर्णालीलाई बाली तथा तरकारीमा रासायनिक मलको प्रयोगबाट मुक्त गर्न गाउँ–गाउँमा सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

पछिल्लो समय मुटु र मृगौलाका बिरामी बढ्दै गएको र त्यसको पछाडि विषादीको प्रयोग हुनसक्ने मन्त्री शर्माले बताए ।

मन्त्रालयका सचिव डा नरहरिप्रसाद घिमिरे विषादीको प्रयोगले मानव स्वास्थ्यमा गम्भीर असर परेको बताए ।

उनले केमिकलको सट्टा अन्य विकल्पको प्रयोग गर्नुपर्नेमा जोड दिए । खाद्यान्नको बढ्दो माग पूरा गर्न उत्पादन बढाउने उद्देश्यले विषादीको प्रयोग बढेको छ ।

त्यसैगरी, कृषि विकास निर्देशनालयका निर्देशक चित्रबहादुर रोकायाले साताभर विद्यालयमा जनचेतना, सूचना प्रवाह, कीरा नष्ट गर्ने जैविक विषादीको प्रदर्शनी तथा वितरण तथा विद्यालयमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने जानकारी दिए ।