अर्थतन्त्र सुस्त छ तर संकटमा छैन : अर्थमन्त्री पुन
२०८० चैत्र ४, आईतवार २१:१२
अर्थमन्त्री वर्षमान पुनले मुलुकको अर्थतन्त्र केही सुस्त भए पनि संकटको अवस्थामा नपुगेको बताउनुभएको छ ।
नागरिक लगानी कोष (सीआईटी) को ३४औँ वार्षिकोत्सव कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उनले अर्थतन्त्र संकटबाट परेको र बाह्य क्षेत्रमा धेरै सुधार देखिएको दाबी गरे ।
तर, मन्त्री पुनले सार्वजनिक वित्त क्षेत्रमा केही संरचनात्मक चुनौती रहेको स्वीकार गरे । देशको अर्थतन्त्र धरासायी हुँदै गएको नकारात्मक प्रचारले बजारमा असर गरेको उनले बताए ।
‘हामीसँग एक वर्षभन्दा बढीको वस्तु तथा सेवाको आयात धान्न पर्याप्त विदेशी मुद्रा सञ्चिति छ, रेमिट्यान्स आप्रवाह उत्कृष्ट छ, बैंक तथा वित्तीय संस्थामा पर्याप्त तरलता छ, अब विस्तारै लगानी पनि बढ्ने छ’, अर्थमन्त्रीले भने । ।
उनका अनुसार केही समयअघि नेपालको अर्थतन्त्र पनि श्रीलंकाजस्तै धरासायी हुँदै गएको भन्दै आलोचना हुँदा बाह्य क्षेत्र विशेषगरी भुक्तानी सन्तुलन अन्धकार भएको देखिएपछि अहिले बाह्य क्षेत्र बलियो बनेको छ ।
अर्थमन्त्रीले आर्थिक परिसूचक सकारात्मक भए पनि बजारको सोचमा सुधार नआएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उनले बजारमा सकारात्मक सोच र आत्मविश्वास भए लगानी बढ्न सक्ने बताए ।
सो अवसरमा उनले पूर्वअर्थमन्त्रीले ल्याएका र यसअघि सरकारले ल्याएका सकारात्मक नीति तथा योजनालाई निरन्तरता दिने आश्वासन दिए । आर्थिक संकुचनका कारण विगतमा अवलम्बन गरिएका कडा नीतिलाई क्रमशः लचिलो बनाइने उनले बताए ।
उनका अनुसार यसबारे विभिन्न मन्त्रालय र विभिन्न निकायसँग छलफल भइरहेको छ । पछिल्लो समय धितोपत्र बजारमा सुधारको संकेत देखिएको बताउँदै उनले यसले बजारलाई उत्साहित बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
अर्थमन्त्रीले सेवा प्रवाहमा सहजीकरणका लागि सबै पक्ष र निकाय जिम्मेवार र जवाफदेही हुनुपर्नेमा जोड दिए । “राजनीतिक नेतृत्वमा समस्या छ, हामीले आफैंले राजनीतिक पवित्रीकरणको आवश्यकता महसुस गरेका छौं। हाम्रा सार्वजनिक निकायमा प्रशासनिक सुधारको खाँचो छ,” उनले स्मरण गराए।
उनले सीआईटी व्यवस्थापनलाई आफूभित्र रहेको निक्षेपलाई उत्पादनशील क्षेत्र, ठूला पूर्वाधार निर्माण आयोजना र रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्न आग्रह गरे । मन्त्री पुनले उत्पादनशील क्षेत्रमा निक्षेप परिचालन गरी उत्पादकत्व वृद्धि र रोजगारी सृजना गरी राष्ट्रिय पुँजी निर्माणमा योगदान पुर्याउन सिआइटीलाई आह्वान गरे ।
सीआईटीका कार्यकारी निर्देशक पार्वतकुमार कार्कीले डिटेक्टमा सीआईटीको महत्वपूर्ण भूमिका रहेको बताए




