लोकेश बमको उत्कृष्ट ब्याटिङका ​​बाबजुद नेपाल ‘ए’ टोली टी–२० सिरिजमा आयरल्याण्डको ‘ए’ टोलीसँग २१ रनले पराजित भएको छ ।

आयरल्यान्डले दिएको २२३ रनको लक्ष्य पछ्याएको नेपालले १९ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर २०१ रन मात्रै बनाउन सकेको थियो ।

नेपालका लागि लोकेश बमले शतक प्रहार गरे । उनले ५६ बलमा ९ चौका र आठ छक्का प्रहार गर्दै १०६ रन जोडे। त्यसैगरी आसिफ शेखले २६ बलमा एक चौका र पाँच छक्का प्रहार गर्दै ४९ रन बनाए ।

आयरल्याण्डविरुद्ध अन्य नेपाली ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् ।

कप्तान विनोद भण्डारीले दुई चौका र एक छक्का प्रहार गर्दै १६ रन बनाए । बसिर अहमद तीन रन बनाएर आउट भए ।

बलिङतर्फ आयरल्यान्डका फिन ह्यान्ड र म्याथ्यु हम्फ्रेजले तीन–तीन विकेट लिए भने माथु फोस्टरले दुई विकेट लिए । टम मेयस र गेभिन होईले एक एक विकेट लिए ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा आज भएको टी–२० सिरिजअन्तर्गत टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आयरल्याण्डले निर्धारित ओभरमा पाँच विकेट गुमाएर २२२ रन बनाएको छ ।

पिटर मुरले ३२ बलमा चार चौका र तीन छक्का प्रहार गर्दै ४९ रन बनाए । कप्तान निल रक र केडले समान ३८ रनको योगदान दिए । स्टिफन डोहेनीले १६ बलमा चार चौका र दुई छक्का प्रहार गर्दै ३४ रन बनाए । त्यस्तै, ग्यारेथ डेलानीले १४ बलमा दुई चौका र तीन छक्का प्रहार गर्दै अविजित ३० रन बनाए । गेभिन होईले ६ बलमा दुई छक्का प्रहार गर्दै १८ रन बनाए ।

नेपालका लागि कमलसिंह ऐरेले ३ विकेट लिए भने सागर ढकाल र आरिफ शेखले १/१ विकेट लिए ।

दोस्रो खेलमा शनिबार आयरल्याण्डको ‘ए’ टोली र नेपालको ‘ए’ टोली भिड्दैछन् ।