विराटनगरको शहीद रंगशालामा शनिबार राति भएको आठौं विराट गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनल खेलमा मच्छिन्द्र फुटबल क्लब विजयी भएको छ ।

मच्छिन्द्र फुटबल क्लबले सांग्रिला फुटबल क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

निर्धारित ९० मिनेटमा कुनै पनि टोलीले गोल गर्न नसकेपछि खेलको ११३औँ र ११९औँ मिनेटमा मच्छिन्द्र क्लबका स्ट्राइकरले एक–एक गोल गरे । मच्छिन्द्रका लागि छिरिङ गुरुङ र युसुप थपलियाले एक–एक गोल गरे ।

जितसँगै मच्छिन्द्र फुटबल क्लबले ११ लाख र उपविजेता सांग्रिला फुटबल क्लबले ५ लाख ५० हजार प्राप्त गरेको छ ।

प्रतियोगितामा मच्छिन्द्र क्लबका लाकेन लिम्बु प्लेयर अफ दि म्याच घोषित भए भने सांग्रिला क्लबका महेन्द्र कार्की उत्कृष्ट खेलाडी घोषित भए ।

त्यस्तै उत्कृष्ट गोलकिपर मच्छिन्द्र क्लबका विशाल श्रेष्ठ, उत्कृष्ट प्रशिक्षक मच्छिन्द्र क्लबका सन्तोष न्यौपाने र सर्वाधिक गोलकर्ता मच्छिन्द्र क्लबका स्टिफन विनोङले २१/२१ हजार रुपैयाँ हात पारे ।

प्रतियोगितामा भारत र भुटानका एक–एक गरी १० टोलीको सहभागिता रहेको थियो ।