गिनिज बुकमा नाम दर्ता सुरेन्द्र राई र सुसन तामाङले गरे
२०८१ असार ९, आईतवार १७:२८
आफुमा भएको निहित प्रतिभालाई विभिन्न प्रकारले प्रस्तुति गर्दा नेपाली डान्स क्रु ‘वाइल्ड रिपर्ज क्रु’ का सुरेन्द्र राई र सुसन तामाङले ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ मा आफ्नो नाम दर्ता गर्न सफलता पाए ।
विश्वमा नेपाललाई प्रतिनिधित्व गरेका यो जोडीले जमिनबाट सबैभन्दा अग्लो स्थानमा डान्स कोरियोग्राफी गरेर गिनिज बुकमा रेकर्ड बनाए ।
उनिहरूले १९ मे, २०२४ अर्थात नेपाली मिति जेठ ६ मा नेपालको सोलुखुम्बुस्थित कालापत्थरमा आफ्नो कला पस्केका थिए । कालापत्थर ५६४४.५ मिटर ९१८, ५१९ फिट अग्लो छ । दुवैले ५,४४१ मिटर (१७,८५१ फिट) मा रेकर्ड बनाए ।
उनिहरूले प्रस्तुत गरेको गीतको बोल ‘मन मगन’ रहेको थियो । सुसन र सुरेन्द्रको यो प्रयास फोटोग्राफीमा सौगात कार्की र भिडियोग्राफीमा सोनम केसी र उमेश सापकोटाले साथ दिएका थिए ।
उनीहरूको यो प्रयासलाई ‘गिनिज वर्ल्ड रेकर्ड’ ले अनुमोदन गरेको छ । ‘हाम्रा हिमाल र वातावरण संरक्षण, हिमाली जैविक विविधताका विषयमा जनचेतना फैलाउन र नेपालको पर्यटन प्रवर्द्धनका लागि यो कीर्तिमानी प्रयास गरेका हौँ’ सुरेन्द्रले जानकारी दिए ।




