नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवासँग आफूबीच कुनै खटपट नरहेको बताएका छन्।

शुक्रबार कैलालीको धनगढीमा सुदूरपश्चिम प्रदेशका नेता तथा कार्यकर्तासँगको भेटघाटका क्रममा उनले यस्तो प्रस्ट्याएका हुन्।

कांग्रेस कञ्चनपुरका सभापति पदम बोगटीको नेतृत्वमा रहेको टोलीसँगको छलफलमा जिल्ला सचिव भीम भट्टका अनुसार कोइरालाले देउवाको अनुरोधमा धनगढी आएका र व्यक्तिगत रूपमा कुनै समस्या नभएको बताए।

भेटघाटका क्रममा कोइरालाले पार्टीको १५औँ महाधिवेशनमा सभापति पदका लागि आफू प्रत्याशी हुने दोहोर्‍याउँदै पार्टी एकताको आवश्यकता रहेको बताएका थिए।

“म १५औँ महाधिवेशनमा सभापति पदका लागि उम्मेदवार हुँ। १४औँ महाधिवेशनमा पनि उम्मेदवार थिएँ र सबैभन्दा नजिकको प्रतिस्पर्धी थिएँ। त्यसैले म स्वाभाविक प्रत्याशी हुँ,” कोइरालाको भनाइ उद्धृत गर्दै भट्टले जानकारी दिए। “अहिले पार्टी एकजुट हुनु जरुरी छ।”