नेपाल राष्ट्र बैंक (एनआरबी) ले बैंक तथा वित्तीय संस्थाहरुलाई राष्ट्रिय परिचयपत्रको आधारमा खाता खोल्ने व्यवस्था गर्न सार्वजनिक सूचना जारी गरेको छ।

यसअघि राष्ट्र बैंकले एकीकृत निर्देशनमार्फत यस्तो व्यवस्था गर्न निर्देशन दिएको थियो।

राष्ट्रिय परिचयपत्रको पहुँच सजिलो बनाउन राष्ट्रिय परिचयपत्र तथा दर्ता विभागले देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत परिचयपत्र वितरणको व्यवस्था गरेको छ।

काठमाडौँ उपत्यकामा समेत अस्थायी शिविर स्थापना गरी परिचयपत्र वितरण भइरहेको जानकारी दिइएको छ।

साथै, विभागले अनलाइन पोर्टल पनि सञ्चालनमा ल्याएको छ, जसबाट नागरिकले आफ्नो परिचयपत्र नम्बर र आवेदनको स्थिति जाँच गर्न सक्छन्।

सूचनामा, नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई विभागको पोर्टल प्रयोग गरी राष्ट्रिय परिचयपत्रको जानकारी प्रमाणित गर्दै ग्राहकलाई खाता खोल्न सहयोग गर्न निर्देशन दिएको छ।