डीडीसीले ३१ वर्षको सम्पत्ति कर काठमाडौं महानगरलाई तिरे
२०८१ माघ ४, शुक्रबार १३:५५
दुग्ध विकास संस्थान (डीडीसी) ले काठमाडौं महानगरपालिकालाई ३१ वर्षको सम्पत्ति कर एकैपटकमा तिरेको छ।
२०७९ माघ २९ गतेको मुल्यांकन अनुसार, डीडीसीले महानगरलाई रु १ करोड २ लाख ८७ हजार सम्पत्ति कर बुझाएको हो। यो रकम आर्थिक वर्ष २०४९/५० देखि २०८१/८२ सम्मको सम्पत्ति कर समेटिएको छ।
यसअघि, काठमाडौं महानगरको राजस्व विभागले डीडीसीसहित १२ सरकारी स्वामित्वका व्यापारिक संस्थानहरूलाई सम्पत्ति कर तिर्न सूचना जारी गरेको थियो।
सम्पत्ति करको दर र संकलन प्रक्रिया महानगरको राजस्व ऐन, २०७५, र आर्थिक ऐनको प्रावधानअनुसार हुन्छ, जसमा निर्माणपछि २ वर्षको छुट उपलब्ध गराइन्छ।
राजस्व विभाग प्रमुख दीपक अधिकारीका अनुसार, “सामूहिक कर संकलनका लागि सूचना जारी भएपछि करदाताहरू सकारात्मक रूपमा प्रतिक्रिया जनाउन थालेका छन्। यसबाट बाँकी कर संकलन प्रक्रिया सहज हुँदैछ।”
यदि कर तिर्न असफल भएमा, राजस्व विभाग वा वडा कार्यालयले ३५ दिनको सूचना दिने प्रावधान छ। आवश्यक परे प्रमुख प्रशासकीय अधिकृतको सिफारिसमा १० दिनको म्याद थप्न सकिनेछ।




