चिनियाँ नयाँ वर्ष काठमाडौंमा सुरु
२०८१ माघ १२, शनिबार १४:४५
चिनियाँ नयाँ वर्षको अवसरमा सात दिन लामो प्रदर्शनी काठमाडौंमा सुरु भएको छ।
पूर्व उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसकी नेतृ सुजाता कोइराला, नेपालस्थित चिनियाँ राजदूतावासका उपप्रमुख वाङ सिन, नेपाल ललितकला प्रतिष्ठानका कुलपति नारदमुनि हारतम्छाली, सांघाई सांस्कृतिक सम्पदा विभागका निर्देशक ओउ सियाओछुआन, र सांघाई इतिहास संग्रहालयका निर्देशक झाउ छुनहुआले संयुक्त रूपमा प्रदर्शनीको उद्घाटन गरे।
उद्घाटन कार्यक्रममा सुजाता कोइरालाले यस प्रदर्शनीले नेपाल र चीनबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने उल्लेख गरिन्। उनले यो कार्यक्रमले दुई देशको साझा सांस्कृतिक सम्पदा झल्काउने बताउँदै सांस्कृतिक कूटनीतिले आपसी समझदारी बढाउन महत्वपूर्ण भूमिका खेल्ने कुरा जोड दिइन्।
कुलपति नारदमुनि हारतम्छालीले कला, इतिहास, र सामाजिक जीवन सम्बन्धी ज्ञान आदान-प्रदान गर्ने यस किसिमका कार्यक्रमले दुई देशबीचको सहकार्यलाई थप सुदृढ पार्ने बताए।
कार्यक्रममा नेपाल ललितकला प्रतिष्ठानका सदस्यहरू, चिनियाँ कलाकारहरू, विद्वान्हरू, विभिन्न संस्थाका प्रतिनिधिहरू, र विद्यार्थीहरूको उपस्थिति थियो। उद्घाटन कार्यक्रममा चिनियाँ विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति, कलिग्राफी, र नेपाली लोकगीत “रेशम फिरिरी” प्रस्तुत गरे।
यस प्रदर्शनीमा १९ औँ शताब्दीको अन्त्यतिरको सांघाईको सामाजिक, सांस्कृतिक, र आर्थिक पक्ष झल्काउने ६० वटा नयाँ वर्षका चित्रहरू समेटिएका छन्।
सांघाई इतिहास संग्रहालय, सांघाई नगर संस्कृति तथा पर्यटन प्रशासन, र नेपालस्थित चीन सांस्कृतिक केन्द्रले आयोजन गरेको यो प्रदर्शनीमा चिनियाँ राजदूतावास र नेपाल ललितकला प्रतिष्ठानले सहयोग गरेका छन्।
प्रदर्शनी जनवरी ३१ सम्म चल्नेछ। नेपाल र चीनले सन् २०२५ मा आफ्नो कूटनीतिक सम्बन्धको ७० औँ वार्षिकोत्सव मनाउने तयारी गर्दै गर्दा आगामी दिनमा यस्ता थप सांस्कृतिक कार्यक्रमहरू हुने अपेक्षा गरिएको छ।




