चीनको जलवायु प्रतिबद्धता कोइला निर्भरता बढ्दै जाँदा प्रभावित
२०८१ माघ १८, शुक्रबार १९:१३
चीनले सन् २०२४ मा पनि जलवायु प्रतिबद्धता उल्लंघन गरेको देखिन्छ, जसको मुख्य कारण ऊर्जाको माग पूरा गर्न कोइलाको प्रयोग वृद्धि हुनु हो। सन् २०२४ मा चीनले अहिलेसम्मकै धेरै ८.७७ अर्ब टन कोइला खपत गर्यो।
सन् २०२४ को सुरूवातमा चीनले कोइलाको लागि अनुमति पत्रहरू घटाए तापनि, अघिल्ला दुई वर्षहरूमा स्वीकृत भएका नयाँ विद्युत् परियोजनाहरू निर्माण भए।
चीनले नवीकरणीय ऊर्जा स्रोतहरूको प्रयोग बढाएको दाबी गरे तापनि, तापीय ऊर्जा उत्पादन क्षमतामा कुनै कमी आएको छैन। बरु, चीनको राष्ट्रिय तथ्यांक विभाग (National Bureau of Statistics) का अनुसार, कोइलामै भर परेर सन् २०२४ मा तापीय ऊर्जा उत्पादनमा १.५ प्रतिशत वृद्धि भएको छ।
चीनको कोइला निर्भरता घटाउन नवीकरणीय ऊर्जा विस्तारको गति पर्याप्त देखिँदैन। चीनले सन् २०२४ मा मात्र ५४७.२ मिलियन टन कोइला आयात गर्यो, जुन वैश्विक कोइला व्यापारको ४१ प्रतिशत हो।
अष्ट्रेलियाबाट कोइला आयात पुनः सुरू
सन् २०२१ मा अष्ट्रेलियाले कोरोना भाइरसको उत्पत्तिबारे स्वतन्त्र छानबिनको माग गरेपछि चीनले अष्ट्रेलियाबाट कोइला आयात रोकिएको थियो। तर, सन् २०२४ मा पुनः अष्ट्रेलियाबाट कोइला आयात सुरू गरियो।
चीनका जलवायु लक्ष्यहरू जोखिममा
विशेषज्ञहरूले चीनको बढ्दो कोइला प्रयोगका कारण सन् २०२५ का प्रमुख जलवायु लक्ष्यहरू गुम्ने चेतावनी दिएका छन्।
अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (IEA) का अनुसार, सेवा क्षेत्रमा विद्युतीकरण, डेटा सेन्टरहरूको विस्तार, र कृत्रिम बुद्धिमत्ता पूर्वाधारको विकासले कोइलाको खपत झन् बढाएको छ।
“वैश्विक रूपमा खपत हुने एक तिहाइ कोइला चीनका बिजुली उत्पादन केन्द्रहरूमा जलाइन्छ, जसका कारण चीनको विद्युत् क्षेत्र नै वैश्विक कोइला बजारको मुख्य चालक बनेको छ,” IEA ले जनाएको छ।




