सगरमाथा संवाद तयारी बैठकमा प्रधानमन्त्रीको उपस्थिति सगरमाथा संवादको तयारी बैठक आज प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सम्पन्न भयो। नेपाल सरकारले वैशाख ३-५ (मे १६-१८) मा काठमाडौंमा सगरमाथा संवाद आयोजना गर्नेछ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्रीकै नेतृत्वमा रहने निर्देशन समिति गठनको प्रस्ताव राखियो।

त्यस्तै, परराष्ट्रमन्त्री डा. अर्जु राणा देउबाको अध्यक्षतामा रहने कार्यसमिति गठनबारे छलफल भयो। साथै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सचिवालय गठनको तयारी थालिएको छ।

बैठकमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा लगायत अधिकारीहरूको उपस्थिति थियो।

भारत, चीन र दक्षिण एसियाका सरकार वा राष्ट्र प्रमुखलाई विशेष अतिथिका रूपमा आमन्त्रण गर्ने तयारी गरिएको छ।

घरेलु तथा अन्तर्राष्ट्रिय मिडियामा प्रचार प्रभावकारी बनाउन आजैबाट www.sagarmathasambad.com पोर्टल सार्वजनिक गरिएको छ।

यसैगरी, महिलाहरू, बालबालिका, ज्येष्ठ नागरिक, युवा, आदिवासी तथा विपन्न समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न पूर्व-संवाद आयोजना गर्ने प्रस्ताव गरिएको छ।

नेपाल पर्यटन बोर्ड, नेपाल उद्योग वाणिज्य महासंघ र निजी क्षेत्रको साझेदारीमा विभिन्न साइडलाइन कार्यक्रम तथा प्रदर्शनीहरू आयोजना गर्ने योजना छ।

प्रधानमन्त्री ओलीले गत जनवरी २१ मा ‘अन्तर्राष्ट्रिय हिमनदी संरक्षण वर्ष’ को अवसरमा सगरमाथा संवाद आयोजना गर्ने घोषणा गरेका थिए।