मनाङमा लागेको डढेलो १० दिनपछि पनि नियन्त्रणमा आउन सकेन

मनाङको चामे गाउँपालिका-१, तिमाङ जंगलमा लागेको डढेलो १० दिन बितिसक्दा पनि नियन्त्रणमा आउन सकेको छैन।
गत माघ १८ गतेदेखि साँझ सुरु भएको डढेलो कठिन भौगोलिक अवस्थाका कारण निभाउन सकिएको छैन।
जिल्ला प्रशासन कार्यालयका अनुसार आगो नियन्त्रण गर्न समस्या भइरहेको छ। प्रमुख जिल्ला अधिकारी (सीडीओ) मातृका आचार्यका अनुसार जिल्लाका सबै सुरक्षा निकाय परिचालित गरिएका छन्।
“जिल्लाका सबै सुरक्षा निकायलाई डढेलो नियन्त्रणमा लगाइएको छ। स्थानीयबासी पनि सक्रिय रूपमा संलग्न छन्। तर, अहिलेसम्म नियन्त्रणमा ल्याउन सकिएको छैन,” सीडीओ आचार्यले बताए।
डढेलो समयमै नियन्त्रण गर्न नसक्दा भेँडा, बाख्रा, चौंरी र अन्य चौपायाका चरिचरन नष्ट भएको उनले जानकारी दिए।
“आगो बस्तीभन्दा टाढा, कठिन भेगमा लागेको छ। हावा पनि चलेकोले आगो फैलिने जोखिम छ,” उनले भने। आगोका कारण राष्ट्रिय चरा डाँफे तथा कान्छा लालीगुराँसको बोटबिरुवा नष्ट भइसकेको छ।
सुरक्षा निकाय र स्थानीयहरू आगो नियन्त्रण गर्न सक्दो प्रयास गरिरहेका छन्।