पोखरा पर्यटन वर्ष’ उद्घाटन समारोहमा अर्थमन्त्री र पोखरा मेयर घाइते
२०८१ फाल्गुन ३, शनिबार १७:४४
शनिबार दिउँसो कास्कीस्थित प्रदर्शनी केन्द्रमा आयोजित ‘पोखरा पर्यटन वर्ष’ उद्घाटन समारोहमा २० लाख आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटक आकर्षित गर्ने लक्ष्य राखिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेल थिए, भने पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उनलाई साथ दिइरहेका थिए।
मञ्चमा प्रविधिको प्रयोगलाई विशेष महत्त्व दिइएको थियो। उद्घोषकले माहोल तताउँदै भने, “यो विज्ञान र प्रविधिको युग हो… एआईले ठूला फड्काहरू मार्दैछ… प्रविधिलाई अँगाल्नैपर्छ… हेरौँ, आगो बलेको छ… स्विच अन भइसकेको छ… दीप जलिरहेको छ… पर्यटन वर्षको लोगो अनावरण हुँदैछ… तालीको गडगडाहटले स्वागत गरौँ…!”
तर, प्रविधिको प्रयोगमै लापरबाही हुँदा दुर्घटना भयो।
मञ्चमा ज्वाला निकाल्ने मेशिनहरू जडान गरिएका थिए, र त्यही बेला मन्त्री पौडेल र मेयर आचार्यलाई हाइड्रोजनले भरिएका बेलुनका गुच्छाहरू हस्तान्तरण गरिएको थियो। उद्घाटनको विशेष क्षण बनाउनका लागि तिनीहरूलाई बेलुन उडाउन भनियो।
तर, बेलुनहरू मञ्चकै आगोको सम्पर्कमा आएपछि एकाएक विस्फोट भए। शक्तिशाली विस्फोटसँगै दुवै विशिष्ट अतिथिहरूको अनुहार आगोले जलेर क्षतविक्षत भयो।
उद्घोषक अक्क न बक्क परे। मञ्चमा हलचल मच्चियो।
घटनापछि तुरुन्तै सुरक्षा कर्मीहरूले मेयर आचार्यलाई उद्धार गरी पोखराकै फिस्टेल अस्पताल पुर्याए। अर्थमन्त्री पौडेललाई भने गण्डकी मेडिकल कलेज शिक्षण अस्पताल लगियो।
तर, पोखराका चिकित्सकहरूले गम्भीर जलन भएको भन्दै दुवै नेतालाई विशेष जलन उपचार केन्द्रमा पठाउन सल्लाह दिए। त्यसपछि फिस्टेल एयर हेलिकोप्टरमार्फत उनीहरूलाई काठमाडौं ल्याइयो र कीर्तिपुर बर्न अस्पतालमा भर्ना गरियो।
काठमाडौं उड्नु अघिका तस्बिरहरूमा मन्त्री पौडेलको अनुहार र बाँया हातमा सेतो पट्टी बाँधिएको देखिन्छ, भने मेयर आचार्यको अनुहार पनि नराम्रोसँग जलेको देखिन्छ।




