ताप्लेजुङमा केबलकार विवादका कारण निषेधाज्ञा जारी
२०८१ फाल्गुन ११, आईतवार १०:०३
काठमाडौं-पाथीभरा केबलकार परियोजनालाई लिएर उत्पन्न विवादका कारण ताप्लेजुङ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ।
जिल्ला प्रशासन कार्यालय, ताप्लेजुङले शनिबार मध्यरातमा विज्ञप्ति जारी गर्दै उक्त निर्णय सार्वजनिक गरेको हो। प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार निषेधाज्ञा फुङलिङ बजार, काफ्लेपाटी, बालुडाँडा लगायतका क्षेत्रमा लागू हुनेछ।
यो निषेधाज्ञा आइतबार बिहान ५ बजेबाट लागू हुनेछ र अर्को सूचना नआएसम्म जारी रहनेछ।
शनिबार साँझ केबलकार परियोजनाको समर्थन र विरोधमा भएका झडपमा स्थानीयहरू घाइते भएपछि प्रशासनले स्थिति नियन्त्रण गर्न निषेधाज्ञा जारी गरेको हो। जिल्ला प्रशासनले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३)(क) अनुसार क्षेत्रको शान्ति सुरक्षा कायम गर्न निषेधाज्ञा लगाइएको जनाएको छ।




