प्रकृतिको पितासँग प्रधानमन्त्रीले संवाद
२०८१ फाल्गुन १३, मंगलवार १२:४३
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको ओडिशास्थित केआईआईटी युनिभर्सिटीमा आफ्नै छात्रावासको कोठामा मृत फेला परेकी नेपाली विद्यार्थी प्रकृति लम्सालका पिता सुनील लम्सालसँग टेलिफोन संवाद गरेका छन्।
उक्त संवाद एमाले नेता महेश बस्नेतले लम्साल परिवारको निवास भैरहवामा पुगेर समवेदना व्यक्त गरेपछि भएको हो।
भावुक संवादका क्रममा सुनील लम्सालले प्रधानमन्त्री ओलीलाई यस्तो दुःखद घटना कुनै पनि नेपाली परिवारले भोग्न नपरोस् भन्ने आग्रह गरे। उनले आफ्नो छोरी गुमाउनु परेको पीडा व्यक्त गर्दै अन्य नेपाली विद्यार्थीहरूको सुरक्षाका लागि ठोस कदम चाल्न सरकारसँग माग गरे।
“अब हाम्रो त भयो, होइन? घटना भइसकेको छ। त्यहाँ अन्य नेपाली विद्यार्थी छन्। अबका दिनमा यस्तो घटना नहोस्। तपाईं आफ्नो तर्फबाट पहल गर्नुहोस्,” उनले ओलीसँग भने।
प्रधानमन्त्री ओलीले परिवारलाई न्याय दिलाउन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउँदै भने, “हामीले कूटनीतिक तथा सरकारी तहबाट चासो लिएका छौँ।”
ओलीले आवश्यक कूटनीतिक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै दोषीलाई कानुनी दायरामा ल्याउन सहयोग गर्ने आश्वासन दिए
उनले नेपाली विद्यार्थीहरूको सुरक्षाका लागि सरकार सतर्क रहेको र भारतीय अधिकारीहरूसँग निरन्तर सम्पर्कमा रहेर घटनाको निष्पक्ष छानबिन गराउने बताए।
यसैबीच, एमाले नेता महेश बस्नेतले लम्साल परिवारलाई भेटी पार्टीको ऐक्यबद्धता जनाए। उनले पीडित परिवारलाई न्यायका लागि आफ्नो साथ र सहयोग रहने बताए।




