खानेपानी मन्त्री यादव भारत प्रस्थान
२०८१ फाल्गुन १७, शनिबार १९:१३
खानेपानी मन्त्री प्रदीप यादव भारतको नयाँ दिल्लीतर्फ आधिकारिक भ्रमणका लागि प्रस्थान गरेका छन्। उहाँ सोमबार (मार्च ३) भारतसँग खानेपानी, सरसफाइ, र स्वच्छता क्षेत्रमा सहकार्य मजबुत बनाउने समझदारीपत्र (MoU) मा हस्ताक्षर गर्न जाँदैछन्।
खानेपानी मन्त्रालयका सहसचिव मीना श्रेष्ठका अनुसार मन्त्री यादव शनिबार दिउँसो २ बजे नयाँ दिल्लीतर्फ प्रस्थान गरेका हुन्। समझदारीपत्रमा नेपाल सरकारका तर्फबाट मन्त्री यादवले हस्ताक्षर गर्नेछन् भने भारत सरकारका तर्फबाट खानेपानी मन्त्री सीआर पाटिल सहभागी हुनेछन्।
समझदारीपत्रले दुई देशबीचको खानेपानी स्रोत व्यवस्थापन, स्वच्छ पानीको पहुँच विस्तार, सरसफाइ प्रवर्द्धन, र फोहोर व्यवस्थापन सुधारमा सहकार्य गर्नेछ। साथै, भूमिगत जल व्यवस्थापन, वर्षा पानी संकलन तथा मापन, प्रविधि आदान–प्रदान, र नेपालका लागि प्राविधिक तथा तालिम सहयोगसमेत समेटिनेछ।
यो पहलले नेपाल–भारत सम्बन्धलाई अझ मजबुत बनाउने र आधुनिक प्रविधिको प्रयोगमार्फत खानेपानी तथा आपूर्ति व्यवस्थापन सुधार गर्न योगदान दिने अपेक्षा गरिएको छ।




