गृहमन्त्री रमेश लेखकले ताप्लेजुङको पाथीभरा केबलकार निर्माणको विरोध गर्दै आएको ‘नो केबलकार’ समूहलाई वार्ताका लागि बोलाएका छन्।

राष्ट्रिय सभाको आइतबारको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले ‘नो केबलकार’ समूहको चासोलाई सरकारले गम्भीर रूपमा लिएको बताए। साथै, उनले वार्ताका लागि चाँडै अघि आउन आग्रह गरे।

गृहमन्त्रीले केबलकार परियोजनासम्बन्धी समस्या समाधानका लागि सरकार खुला रहेको बताउँदै संवाद र छलफलमार्फत समाधान खोज्ने प्रतिबद्धता जनाए।

साथै, उनले देशमा शान्ति सुरक्षा कायम गर्न सरकार प्रतिबद्ध रहेको र जनताले सुरक्षित महसुस गर्ने वातावरण बनाउन ध्यान दिइएको स्पष्ट पारे।

सिराहाको नवराजपुर गाउँपालिका-१, भगवतीपुरकी १७ वर्षीया रिन्कु कुमारी सदायको मृत्यु प्रकरणमा प्रहरी गम्भीर छानबिन गरिरहेको र दोषीमाथि कारबाही गरिने आश्वासन पनि उनले दिए।

सर्लाहीको बर्हथवा निवासी नेहा रौनियार र सत्येन्द्र रामको प्रेम विवाहपछि उत्पन्न चुनौतीको विषयमा सरकार उनीहरूको सुरक्षामा संवेदनशील रहेको उल्लेख गरे।

गृहमन्त्री लेखकले सरकारले विभेदविरुद्धको अधिकार कार्यान्वयन गर्न सक्रिय रूपमा काम गरिरहेको बताए।

साथै, संसदमा विभिन्न विधेयकहरू छलफलमै रहेको, नीति तथा कानुनी सुधारहरू भइरहेको जानकारी दिए।

भूकम्पपछिको पुनर्निर्माण र पुनर्स्थापनाको सन्दर्भमा उनले स्रोत साधनको सीमितताका कारण अपेक्षाअनुसार काम हुन नसके पनि उपलब्ध स्रोत र सबै पक्षको सहकार्यमा प्रयास जारी रहेको बताए।