विराटनगर — विराटनगरको मानगढ खानेपानी आयोजनामा नयाँ नेतृत्व चयनका लागि फेरि मतदान गरिने भएको छ। उच्च अदालत विराटनगरले पुरानो निर्वाचनलाई विवादास्पद ठहर गर्दै पुनः मतदानको आदेश दिएको हो।

यो आयोजना विराट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको मातहतमा सञ्चालित छ। गत १९ जेठमा नयाँ समिति छान्न मतदान गरिएको थियो। तर, त्यही दिन विवाद भएपछि सबै मतदाताले मतदान गर्न नपाएका थिए।

मतगणना गर्नुपर्ने मागसहित दिव्यराज कट्टेल लगायत तीन जनाले अदालतमा रिट दायर गरेका थिए। त्यसको प्रत्युत्तरमा टंकप्रसाद खतिवडाले पनि पुनः मतदान गराउन माग गर्दै अर्को रिट हालेका थिए।

सोमबार न्यायाधीश ध्रुवराज नन्द र विष्णुप्रसाद अर्यालको संयुक्त इजलासले पुनः मतदान गर्न आदेश दिएको हो। अदालतका अनुसार, प्रक्रिया पुरानै उम्मेदवारका साथ १९ जेठ बिहान ९ बजेको अवस्था अनुसारबाट अगाडि बढ्नेछ।

अध्यक्ष पदका लागि रामबहादुर घिमिरे र लालमणि भट्टराई प्रतिस्पर्धी छन्। दुवैजना नेकपा एमालेका स्थानीय नेता हुन्। तर, यही निर्वाचनले पार्टीभित्र विवादसमेत ल्याएको छ। घिमिरेलाई संस्थापन समूहले समर्थन गरेको थियो भने भट्टराईलाई विपक्षी समूहले अघि सारेका थिए।

यसैबीच, आधिकारिक उम्मेदवारविरुद्ध काम गरेको भन्दै एमालेले नगर अध्यक्ष सागर थापालाई जिम्मेवारीबाट हटाइसकेको छ। यद्यपि, थापा हालै मोरङ उपाध्यक्षमा निर्वाचित भइसकेका छन्।

५ हजार ९ सय घरधुरी जोडिएको यस आयोजना अन्ततः अदालतको आदेशपछि नयाँ नेतृत्व चयनतर्फ अघि बढ्नेछ।