जलवायु संकट समाधानमा सामूहिक सहकार्यको आग्रह: परराष्ट्रमन्त्री डा. आर्जु राणा
२०८१ चैत्र ६, बुधबार ०९:४७
राइसिना संवाद २०२५ मा सहभागी हुँदै परराष्ट्रमन्त्री डा. आर्जु राणाले जलवायु परिवर्तनको चुनौतीलाई सामूहिक प्रयासमार्फत सम्बोधन गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ।
भारतको नयाँ दिल्लीमा भारतीय विदेश मन्त्रालयको आयोजनामा सम्पन्न कार्यक्रममा मन्त्री राणाले विकासोन्मुख मुलुकहरूमा जलवायु संकटको गहिरो प्रभाव परेको उल्लेख गर्नुभयो।
उहाँले नेपाल जस्तो हिमाली मुलुक जलवायु परिवर्तनको प्रत्यक्ष मारमा परेको बताउँदै, अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायु न्यायको पक्षमा नेपालले निरन्तर आवाज उठाइरहेको जानकारी दिनुभयो।
गत वर्षको सेप्टेम्बरमा नेपालमा आएको भीषण वर्षाले २५० भन्दा बढी नागरिकको ज्यान लिएको र ४५ अर्ब रुपैयाँ बराबरको क्षति पुर्याएको उदाहरण दिँदै मन्त्री राणाले विपत्तिले मुलुकको खानेपानी, सडक, ऊर्जा, सिँचाइ तथा कृषि पूर्वाधारमा ठूलो असर पारेको बताउनुभयो।
उहाँले जलवायु वित्तका परम्परागत ढाँचाहरू अब पर्याप्त नरहेको भन्दै वैकल्पिक रणनीति, विशेषतः सार्वजनिक-निजी साझेदारी (PPP) को खोजी आवश्यक रहेकोमा जोड दिनुभयो।
नेपालजस्तो संवेदनशील मुलुकलाई विशेष क्षतिपूर्ति र प्राविधिक सहयोगको खाँचो रहेको उल्लेख गर्दै, उहाँले बाढी, पहिरो र वर्षाका पूर्वसूचना प्रणालीहरू विकासमा अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य भएको बताउनुभयो।
मन्त्री राणाले जलवायु संकट कुनै एक राष्ट्रको मात्र समस्या नभई विश्वव्यापी चुनौती भएकाले यसमा एकजुट भएर काम गर्न सबै देशहरूलाई आह्वान गर्नुभयो।




