मधेसका मुख्यमन्त्री सिंह र योगी आदित्यनाथबीच विकास र सहकार्य
२०८१ चैत्र ८, शुक्रबार १०:४२
नेपाल–भारत सीमामा बिहीबार एउटा विशेष राजनीतिक भेटघाट सम्पन्न भयो। मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह र भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच कपिलवस्तु नजिकै बलरामपुरमा कुराकानी भएको हो।
हिजो दिउँसो करिब ४ बजेतिर सुरु भएको भेटमा दुईमुख्यमन्त्रीबीच सीमावर्ती क्षेत्रको विकास, आपसी सहयोग र सांस्कृतिक सम्बन्धबारे खुलेर छलफल भएको मुख्यमन्त्री सिंहले जानकारी दिए। “हाम्रो भेट सौहार्दपूर्ण वातावरणमा सम्पन्न भयो। दुबै प्रदेशबीचको समन्वयलाई अब अझ प्रगाढ बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ,” सिंहले भने।
भेटमा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार र व्यापार प्रवर्धनका विषय विशेष प्राथमिकतामा परेका थिए। सीमावर्ती नागरिकको दैनन्दिन सहजता र विकासका विषयमा दुबै मुख्यमन्त्री सकारात्मक देखिएका थिए।
मुख्यमन्त्री सिंहले जनस्तरमा विश्वास बढाउन नियमित सम्पर्क र सहकार्य आवश्यक भएको धारणा राखे। योगी आदित्यनाथले पनि उत्तर प्रदेश सरकार सधैं नेपालसँग सकारात्मक सम्बन्धको पक्षमा रहेको बताए।
दुवै नेताले भविष्यमा यस्ता अन्तरप्रदेशीय संवादलाई निरन्तरता दिने र सहकार्यलाई व्यवहारमा उतार्ने प्रतिबद्धता जनाएका छन्।




