भारतले सरकार परिवर्तनमा चासो छैन : परराष्ट्रमन्त्री देउवा
२०८१ चैत्र ९, शनिबार २१:३३
परराष्ट्रमन्त्री आर्जु राणा देउवाले भारतले नेपालको वर्तमान सरकार परिवर्तन गर्ने कुनै संकेत नदेखाएको स्पष्ट पारेकी छन्। ११ दिने भारत भ्रमणपछि स्वदेश फर्किएकी मन्त्री देउवाले भारतले सधैं नेपालमा लोकतान्त्रिक प्रणालीको समर्थन गर्ने कुरा पुनः पुष्टि भएको बताइन्।
नयाँ दिल्लीबाट फर्किएपछि पत्रकारहरूसँग कुरा गर्दै मन्त्री देउवाले भनिन्, “मैले भारतमा नेपालको आन्तरिक राजनीतिबारे धेरै कुरा उठाइनँ। तर मैले पाएको सन्देश स्पष्ट छ—भारत नेपालमा लोकतान्त्रिक प्रणाली कायम रहोस् भन्ने चाहन्छ।”
हालै केपी शर्मा ओली नेतृत्वको सरकारप्रति भारत असन्तुष्ट रहेको भन्ने अडकलबाजीबीच आएको मन्त्री देउवाको यो प्रतिक्रिया महत्त्वपूर्ण मानिएको छ। उनले भारतमा नेपाल सरकारको परिवर्तनसम्बन्धी कुनै पनि औपचारिक वा अनौपचारिक चर्चा नभएको समेत बताइन्।
“भारतले लोकतन्त्रप्रति आफ्नो प्रतिबद्धता दोहोर्याएको छ,” मन्त्री देउवाले भनिन्, “नेपालको राजनीतिक स्थायित्व भारतका लागि पनि आवश्यक छ भन्ने बुझाइ देखिन्छ।”
यसैबीच, उनको भ्रमणलाई कूटनीतिक सद्भावको सन्देशका रूपमा हेरिएको छ। भारतसँग राजनीतिकभन्दा पनि द्विपक्षीय सहकार्य, विकास र सहयोगका विषयमा केन्द्रित भेटघाट भएको बताइन्छ।




