नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि सरकार गम्भीर तयारीमा जुटेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गभर्नर सिफारिस समिति गठन गर्ने निर्णय गर्दै प्रक्रिया औपचारिक रूपमा अघि बढाएको हो।

सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार सिफारिस समितिको संयोजक उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल रहनेछन्। समितिमा पूर्वगभर्नर विजयनाथ भट्टराईअर्थशास्त्री डा. पौडेल सदस्य छन्।

सरकारी स्रोतहरूका अनुसार लामो समन्वयपछि गभर्नर पद नेपाली कांग्रेसको भागमा परेको छ, भने विद्युत् प्राधिकरण र निर्वाचन आयोग नेकपा एमालेको जिम्मामा गएको छ। यस सहमतिसँगै गभर्नरका लागि कांग्रेसनिकट नामहरू चर्चामा छन्।

उम्मेदवारहरूबीच प्रतिस्पर्धा चर्किँदै

गभर्नरको दौडमा नेपाल राष्ट्र बैंकका संचालक रविन्द्र पाण्डे, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगाना, तथा राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट मुख्य दावेदारका रूपमा देखिएका छन्। पाण्डे र ढुंगाना कांग्रेस निकट मानिन्छन् भने भट्ट राजनीतिकरूपमा तटस्थ भए पनि सभापति शेरबहादुर देउवाको रोजाइमा पर्ने सम्भावना उच्च देखिएको स्रोत बताउँछ।

अब सिफारिस समितिले योग्य उम्मेदवारको छनोट गरी सरकारले औपचारिक नियुक्ति प्रक्रिया अघि बढाउनेछ।