कोशी प्रदेशमा लगानी सम्मेलन : पूर्व मुख्यमन्त्रीहरूसँग छलफल
२०८१ चैत्र १९, मंगलवार १०:२५
कोशी प्रदेश सरकारले आगामी वैशाख १८ र १९ गते लगानी सम्मेलन आयोजना गर्ने तय गरेपछि प्रदेशका पूर्व मुख्यमन्त्रीहरूसँग छलफल सुरु गरेको छ।
यसअघि माघ महिनामा नै सम्मेलन गर्ने योजना थियो, तर प्राविधिक कारणले मिति सारिएको थियो। अब मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नेतृत्वमा सम्मेलनलाई सफल बनाउन तयारी तीव्र पारिएको छ।
सोमबार सम्पन्न छलफलमा पूर्व मुख्यमन्त्री भीम आचार्य, उद्धव थापा, मन्त्रीहरू, सचिवहरू लगायत सरोकारवालाहरू सहभागी भए। छलफलमा सम्मेलनको सम्भावना, अवसर र चुनौती बारे विस्तृत समीक्षा भयो।
पूर्व मुख्यमन्त्रीहरूले सम्मेलनलाई सफल बनाउन पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। प्रदेश सरकारले करिब १ खर्ब रुपैयाँ बराबरको लगानी भित्र्याउने लक्ष्य राखेको छ। यसका लागि कानुनी सुधार, परियोजनाको प्राथमिकता र नीतिगत व्यवस्था मिलाउन विशेष ध्यान दिइने बताइएको छ।




