साउदीको नयाँ निर्णय: १४ देशका लागि भिसामा रोक
२०८१ चैत्र २५, सोमबार १०:१९
साउदी अरेबियाले हज नजिकिँदै गर्दा भारत, पाकिस्तान, बंगलादेश, इन्डोनेसिया, इराक लगायत १४ देशका नागरिकहरूका लागि भिसा जारीमा अस्थायी प्रतिबन्ध लगाएको छ। उमराह, व्यापार, र पारिवारिक प्रयोजनका लागि साउदी अरेबिया जान चाहनेहरूका लागि यो निर्णय झट्का सावित भएको छ।
यस अस्थायी प्रतिबन्धले भारत, पाकिस्तान, बंगलादेश, इजिप्ट, इन्डोनेसिया, नाइजेरिया, इराक, जोर्डन, अल्जेरिया, सुडान, इथियोपिया, ट्युनिसिया र यमनका नागरिकहरूलाई प्रभाव पार्नेछ।
साउदी सरकारका अनुसार, हज अवधिमा अनियन्त्रित भीड, अवैध सहभागी, र सुरक्षासम्बन्धी चुनौतीहरूलाई ध्यानमा राख्दै यो कदम चालिएको हो। विशेषगरी उमराह भिसा लिएर प्रवेश गरी हजमा अवैध सहभागी हुने प्रवृत्तिको रोकथाम मुख्य उद्देश्य हो।
यो प्रतिबन्ध हज सम्पन्न नभएसम्म — जुन २०२५ को मध्यतिर — कायम रहनेछ। त्यसपछि पुनः सामान्य रूपमा भिसा कार्यक्रम सञ्चालन हुने साउदी अधिकारीहरूले जानकारी दिएका छन्।
पहिल्यै टिकट लिएका वा तयारीमा रहेका हजारौँ यात्रुहरू यो निर्णयबाट प्रभावित भएका छन्। विशेषगरी उमराह वा व्यापारिक भेटघाटको लागि योजना बनाएका व्यक्तिहरूलाई यात्रा सार्नुपर्नेछ।
साउदीले चेतावनी दिएको छ कि भिसाको दुरुपयोग गर्ने वा हजमा अवैध रूपमा भाग लिनेहरूलाई ५ वर्षसम्म देश प्रवेशमा प्रतिबन्ध लगाइनेछ।
साउदी अरेबियाको यो कदम धार्मिक व्यवस्थापन र सुरक्षाका दृष्टिले महत्वपूर्ण भए पनि, प्रभावित देशका हजारौँ यात्रुहरूका लागि चुनौतिपूर्ण समय ल्याएको छ। आगामी हजपछि सबै प्रक्रिया पुनः सहज हुने आशा गरिन्छ।




