पाणिनी तपोभूमिमा आज प्रधानमन्त्री ओली

देशको राजनीतिक मञ्चबाट केहीबेर विश्राम लिएर प्रधानमन्त्री केपी शर्मा ओली आज अर्घाखाँचीको पवित्र भूमि पाणिनीमा अवतरण गर्दैछन्।
संस्कृत व्याकरणका जन्मदाता पाणिनी ऋषिको तपोभूमिमा आयोजना गरिएको ‘पाणिनी तपोभूमि सम्मेलन’को उद्घाटन गर्न प्रधानमन्त्री ओली विशेष अतिथिका रूपमा सहभागी हुन लागेका हुन्।
प्रधानमन्त्री बिहान करिब ११:३० बजे हेलिकप्टरमार्फत पाणिनी गाउँपालिका पुग्ने कार्यक्रम तय गरिएको छ। ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको यस भूमिमा आयोजना हुने सम्मेलन दुई दिनसम्म चल्नेछ।
आयोजकहरूका अनुसार पाणिनी ऋषिको योगदान, संस्कृति र दर्शनमाथि केन्द्रित यो सम्मेलनले स्थानीय पर्यटन, शिक्षा र संस्कृतको प्रवर्द्धनमा टेवा पुर्याउने अपेक्षा गरिएको छ।
प्रधानमन्त्री ओलीले सम्मेलन उद्घाटन गरेपछि राजधानी फर्केर दिउँसो २:३० बजे नेपाल चेम्बर अफ कमर्शको ७४औं वार्षिक साधारणसभा समेत उद्घाटन गर्ने कार्यक्रम छ। उक्त कार्यक्रम काठमाडौंको ताहाचलस्थित होटल सोल्टीमा हुनेछ।
पाणिनीको नाममा, राष्ट्रको नाममा तपोभूमिका वटवृक्षमुनी आज फेरि एउटा नयाँ अध्याय कोरिँदैछ।