माेरङ ग्रामथान गाउँपालिकामा कार्यवाहक अध्यक्षको जिम्मेवारीलाई लिएर उत्पन्न विवाद उच्च अदालत विराटनगर पुग्दा अदालतले अध्यक्षको निर्णयमाथि अस्थायी रोक लगाएको छ।

गाउँपालिकाका अध्यक्ष नमोनारायण माझीले हालै वडा नम्बर ३ का वडाध्यक्ष रमेशकुमार भगतलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका थिए। तर, गाउँपालिकाकी उपाध्यक्ष गुणवतीदेवी थारूले यो निर्णय स्थानीय सरकार सञ्चालन ऐन २०७४ को मर्म विपरीत रहेको भन्दै अदालतमा रिट निवेदन दायर गरेकी थिइन्।

थारूको दाबी अनुसार, अध्यक्ष अनुपस्थित हुँदा कार्यवाहकको जिम्मेवारी उपाध्यक्षले सम्हाल्ने स्पष्ट कानुनी प्रावधान रहेको छ। अध्यक्ष माझीको निर्णयले उपाध्यक्षको संवैधानिक भूमिकामै प्रश्न उठाएको भन्दै उनले उक्त निर्णय खारेज गर्न माग गरेकी हुन्।

मुद्दामाथि प्रारम्भिक सुनुवाइ गर्दै उच्च अदालत विराटनगरले अध्यक्ष माझीको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ। अब यस विषयमा थप बहस पछि मात्र अन्तिम निर्णय हुने जनाइएको छ।

यो घटनाले स्थानीय तहको सत्ता सन्तुलन, अधिकार प्रयोग र कानुनी व्याख्यामा देखिएको असमझदारीलाई पुनः उजागर गरिदिएको छ।