पूर्वराजाको सन्देश: असन्तुष्ट जनमतको संकेत वा सत्ताप्रति सघन आग्रह?
२०८१ चैत्र ३१, आईतवार १८:१५
नयाँ वर्ष २०८२ को अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले सार्वजनिक रूपमा दिएका शुभकामना सन्देशले सामाजिक सन्देश मात्र होइन, स्पष्ट राजनीतिक संकेत पनि बोकेको देखिन्छ।
सन्देशमा उनले मुलुकको आर्थिक छटपटी, जनतामा पलाइरहेको असन्तोष, र राजनीतिक दिशाहीनता प्रति चिन्ता व्यक्त गरेका छन्। तर, गहिरो विश्लेषण गर्दा यो सन्देश केवल आत्मीय शुभकामनाभन्दा पर गइसकेको देखिन्छ—यो एक प्रकारको वैकल्पिक राजनीतिक अभिव्यक्ति हो।
पूर्वराजाले “महँगीले जनताको ढाड सेकेको” कुरा उठाउँदा उनले सत्तारूढ संरचनामाथि प्रत्यक्ष प्रश्न उठाएका छन्। जब उनले “वित्तीय प्रणाली असन्तुलनमा छ” भनी उल्लेख गर्छन्, यो टिप्पणी आर्थिक नीतिकारहरूको मात्र आलोचना होइन—यो राजनीतिक नेतृत्वप्रतिको अविश्वास हो।
सन्देशमा बारम्बार “राष्ट्रिय एकता”, “संस्थागत सबलता”, “प्रणालीगत असफलता” जस्ता शब्द प्रयोग भएका छन्। यी शब्दावलीहरूले वर्तमान संघीय गणतान्त्रिक व्यवस्थालाई अप्रत्यक्ष चुनौती दिने संकेत दिन्छन्। विगतमा पनि पूर्वराजा ज्ञानेन्द्रले यदाकदा यस्तो ‘भावात्मक राजनीतिक’ अभिव्यक्ति दिने गरेका छन्, तर यसपटक उनले देशको मूख्य चिन्ताहरूलाई आफ्नो धारणा बनाउँदै जनतालाई सम्बोधन गर्न खोजेका छन्।
पूर्वराजाले “निषेध र प्रतिशोधको राजनीति” बाट बाहिर निस्कनुपर्ने उल्लेख गर्दा, यो सन्देश सत्तामा रहेका शक्तिहरूप्रतिको आलोचना मात्र नभई, वैकल्पिक राजनीतिक भूमिकाको दावी जस्तो पनि लाग्न सक्छ। के यसमा उनमा पुनः ‘राष्ट्रिय भूमिका’ खेल्ने आकांक्षा झल्किएको हो?
शक्तिशाली अभिव्यक्ति “देशभित्र रहेको युवाशक्ति निराश छ, बौद्धिक समाज मौन छ” भन्ने वाक्य एक किसिमले शासकीय नेतृत्वको नैतिक वैधतामाथि प्रश्न खडा गर्दछ। इतिहास हेर्दा, जब नेताहरू असफल देखिन्छन्, त्यतिबेला ‘वैकल्पिक नेतृत्व’को कल्पना सधैं गरिन्छ—शायद शाह यही भावभूमिमा उभिएका छन्।
पूर्वराजाको सन्देशले उनी सक्रिय राजनीति गर्ने वा नगर्ने भन्ने स्पष्ट नबताए पनि, जनभावनासँग संवाद गर्ने चाहना भने देखिन्छ। यस्तो सन्देशहरूले वर्तमान व्यवस्था प्रति असन्तुष्ट जनमतलाई सम्बोधन गर्ने माध्यम बन्दै गएको छ।
उनको सन्देश भावनात्मक लागे तापनि, यसले एक गहिरो राजनीतिक विमर्शको ढोका खोल्न सक्छ।




