डा. शेखर कोइरालाको नयाँ वर्ष सन्देश: “राष्ट्रिय मेलमिलापमा जोड दिँदै”
२०८२ बैशाख १, सोमबार १०:५२
नेपाली कांग्रेसका बरिष्ठ नेता डा. शेखर कोइरालाले नयाँ वर्ष २०८२ को अवसरमा जारी सन्देशमार्फत ‘राष्ट्रिय मेलमिलाप’को सन्देशलाई पुनः स्मरण गराउँदै देश र पार्टी दुवैका लागि गम्भीर समीक्षा र सुधारको खाँचो औँल्याएका छन्।
इतिहासबाट पाठ सिक्न आग्रह डा. कोइरालाले पछिल्लो अन्तर्राष्ट्रिय परिस्थिति, विशेष गरी ‘शीतयुद्ध–२’ का संकेतसँगै नेपालको संवेदनशील भूराजनीतिक अवस्थालाई ध्यानमा राख्दै झण्डै पाँच दशकअघि विपी कोइरालाले प्रतिपादन गरेको राष्ट्रिय मेलमिलापको दर्शन आजको दिनमा झनै सान्दर्भिक भएको बताएका छन्।
कांग्रेसभित्र सुधार आवश्यक उनको सन्देशमा पार्टीभित्र बढ्दो भ्रष्टाचार, पैसावालाको प्रभाव, र नैतिकताको गिरावटप्रति चिन्ता प्रकट गरिएको छ। उनले उल्लेख गरे, “कांग्रेस सुकिला मुकिला र पैसावालाको कब्जामा जाने खतरा म देख्दैछु।” त्यसको समाधानका लागि उनले पार्टीभित्र ‘क्लिन पोलिटिक्स’ अभियान थाल्न आग्रह गरेका छन्, जसले इमानदार, निस्वार्थ र स्वाभिमानी कार्यकर्तालाई सक्रिय बनाउनेछ।
महाधिवेशनमा ढिलाइ आत्मघाति कांग्रेसको आगामी महाधिवेशनलाई कुनै पनि बहानामा ढिलो गर्नु आत्मघाति हुने उनको चेतावनी छ। विधानअनुसार समयमा महाधिवेशन सम्पन्न गर्नुपर्ने उनले जोड दिएका छन्।
देशलाई प्राथमिकतामा राख्न आग्रह डा. कोइरालाको सन्देशको मूल मर्म भनेको देश र जनतालाई पार्टी र पदभन्दा माथि राख्नु हो। “आफ्नो र दलभन्दा ‘देश र जनता’ माथि छन् भन्ने सोचले मात्र निकास सम्भव छ,” भन्ने उनको भनाइले सन्देशलाई गहिरो राष्ट्रिय भावमा समेटेको छ।
राजनीतिमा नयां सोचको खाँचो उनको सन्देशले समसामयिक नेपाली राजनीतिमा ‘राजनीतिक शुद्धिकरण’ र ‘राष्ट्रिय एकता’का पक्षमा नयाँ बहसको खाका कोरेको देखिन्छ।





