लोहन्द्रा पुल उद्घाटन : पूर्वाधार विस्तारले आर्थिक क्रियाशीलता बढाउने उपप्रधानमन्त्री सिंहको भनाइ
२०८२ बैशाख ३, बुधबार २०:०३
उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले मुलुकको आर्थिक वृद्धिका लागि पूर्वाधारको विकास अपरिहार्य रहेको बताएका छन्।
जहदा गाउँपालिका र कटहरी गाउँपालिकालाई जोड्ने लोहन्द्रा पुलको उद्घाटन गर्दै मन्त्री सिंहले भने, “यो पुलले स्थानीय बासिन्दाको दैनिक आवागमन सहज बनाउने मात्र होइन, आर्थिक क्रियाकलापलाई समेत गति दिनेछ।”
उनका अनुसार सरकारले जनताको अधिकार सुनिश्चित गर्दै जीवनस्तर सुधार गर्ने लक्ष्यसहित राजनीति गर्दै आएको छ। “हामी जनताको भलाइका लागि काम गर्दैछौं,” मन्त्री सिंहले भने।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सरकारी अधिकारी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो। पुल सञ्चालनमा आएसँगै पूर्वी मोरङको यातायात सञ्जाल थप सशक्त हुने अपेक्षा गरिएको छ।




