नेपाल दुई दिने भ्रमणमा रहेका भारतीय ऊर्जा तथा आवास मन्त्री मनोहर लाल खट्टरले बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन्। मुक्तिनाथको दर्शनपछि फर्किएका मन्त्री खट्टरले सिंहदरबार पुगेर प्रधानमन्त्रीसँग भेटवार्ता गरेका हुन्।

यसअघि मंगलबार, मन्त्री खट्टर संखुवासभा पुगेका थिए। उनले त्यहाँ निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको पावर हाउस र बाँध स्थलको निरीक्षण गरेका थिए।

 आयोजनाको प्रगतिबारे जानकारी लिँदै उनले परियोजना समयमै सम्पन्न हुनुपर्नेमा जोड दिएका थिए।

प्रधानमन्त्री ओली र मन्त्री खट्टरबीचको भेटमा ऊर्जा क्षेत्रमा द्विपक्षीय सहकार्य, जलविद्युत् आयोजनाहरूको प्रगति तथा आगामी दिनमा नेपाल–भारत सम्बन्धलाई कसरी अझ मजबुत बनाउने भन्ने विषयमा कुराकानी भएको थियो।

प्रधानमन्त्री ओलीले भारतसँगको ऊर्जा सहकार्यलाई सकारात्मक मूल्याङ्कन गर्दै थप परियोजनामा सहकार्य बढाउन आग्रह गरे। मन्त्री खट्टरले पनि नेपालमा लगानी र पूर्वाधार विकासमा भारतको चासो रहेको प्रस्ट पारे।

भ्रमण सम्पन्न गरी मन्त्री खट्टर आजै स्वदेश फर्कने तालिका रहेको छ।