शेखर कोइरालाको “अब एमालेसँगको यात्रा अन्त्य गर्नुपर्ने “

नवलपुर, नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले सत्तारूढ गठबन्धनप्रति कडा असन्तोष व्यक्त गर्दै नेकपा एमालेसँगको सहकार्य तत्काल अन्त्य गर्नुपर्ने स्पष्ट संकेत दिएका छन्।
नेपाल थारु संघ नवलपुरको प्रथम अधिवेशनलाई शनिबार सम्बोधन गर्दै डा. कोइरालाले एमालेसँगको गठबन्धनले न लोकतान्त्रिक मूल्य जोगाउन सकेको छ, न त जनताको अपेक्षामा खरा उत्रन। उनका अनुसार, मुलुक क्रमशः ‘एमालेकरण’ हुँदै गइरहेको छ र कांग्रेस चुप लागेर हेर्ने अवस्थामा छैन।
“सत्ता गठबन्धनमा बसेर हामीले मूल्य, आदर्श र लोकतन्त्रको रक्षाको जिम्मेवारी बिर्सन मिल्दैन,” उनले भने, “अहिलेको सरकार भ्रष्टाचारको छायाँमा छ, अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार गर्दैछ र संसदको अधिकार मिच्ने काम भइरहेको छ।”
डा. कोइरालाले सरकारको कामकारबाहीको खुलेर आलोचना गर्दै कांग्रेस कार्यकर्तालाई “बोल्न डराउनुहुन्न”, “सत्य बोल्नुस्, अन्यायको विरोध गर्नुस्” भन्ने सन्देश दिए। गठबन्धनको नाममा जनताको भरोसा गुमाउने अवस्था सिर्जना नहोस् भन्ने उनको चिन्ता थियो।
उनको यो अभिव्यक्तिलाई कांग्रेसभित्रको असन्तोषको संकेतका रूपमा हेरिएको छ, जसले निकट भविष्यमा नेपाली राजनीतिको गति फेरिन सक्ने देखिन्छ।