योगमाया न्‍यौपाने नेपालको इतिहासमा एक विद्रोही समाज सुधारक, कवि र आध्यात्मिक नेतृ थिइन्। उनको जन्म वि.सं. १९२० तिर भोजपुरमा भएको मानिन्छ। उनी विशेष रूपमा महिलाको अधिकार, छुवाछूत विरुद्ध र सामाजिक कुरीतिहरूको विरोधमा आवाज उठाउने पहिलो महिलाहरूमा गनिन्छिन्।

उनै महान नारीप्रती सम्मान गर्दै नेपालमा आयुर्वेद शिक्षाको क्षेत्रलाई नयाँ उचाइमा लैजाने अठोटका साथ, विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयले आजबाट आफ्नो नेतृत्वलाई औपचारिक बनाएको छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष उपस्थितिमा, विश्वविद्यालयका शीर्ष पदाधिकारीहरूले आज बिहान बालुवाटारस्थित प्रधानमन्त्री निवासमा पद तथा गोपनीयताको शपथ लिए।

शपथ समारोहमा विश्वविद्यालयका अध्यक्ष डा. अर्जुन कार्की, कुलपति प्रा. डा. रमेशकुमार ढुङ्गेल, र रजिष्ट्रार डा. डम्बरध्वज चेम्जोङले राष्ट्रिय सेवा, आयुर्वेद शिक्षाको प्रवर्द्धन र संस्थागत विकासमा समर्पित रहने अठोटसहित शपथ लिएका हुन्।

आधुनिकता र परम्पराको संगम खोज्ने बेला आयुर्वेद विश्वविद्यालयजस्तो संस्थाले लिएको यो कदमले शिक्षा क्षेत्रलाई सशक्त बनाउने अपेक्षा गरिएको छ। कार्यक्रममा प्रधानमन्त्री ओलीले नव नियुक्त पदाधिकारीहरूको सफल कार्यकालको शुभकामना दिँदै आयुर्वेदलाई राष्ट्रिय गौरवको विषय बनाउनुपर्ने धारणा राखेका थिए।

नेपालको इतिहासमा पहिलोपटक यस्तो शपथ समारोह बालुवाटारमा आयोजित हुनु स्वयंमा एक संकेत हो — अब आयुर्वेद पनि राष्ट्रिय प्राथमिकतामा छ।