काठमाडौं — नेपालको भ्रमणमा रहेका चिनियाँ जनकांग्रेस (नेशनल पिपुल्स कांग्रेस) स्थायी समितिका उपाध्यक्ष सिआओ चीले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

दुबै पक्षबीच विकास निर्माण, पूर्वाधार परियोजना, र आर्थिक सहकार्यलाई अघि बढाउने सहमति भएको बताइएको छ। प्रधानमन्त्री ओलीले नेपाल र चीनबीचको सम्बन्ध ऐतिहासिक, विश्वासिलो र सदैव सहयोगमै आधारित रहेको बताएका छन्।

भेटका क्रममा चिनियाँ उपाध्यक्ष सिआओ चीसहितको टोलीले नेपालमा सञ्चालनमा रहेका चिनियाँ परियोजनाबारे चासो देखाउँदै आगामी दिनमा बेल्ट एन्ड रोड इनिसिएटिभ (BRI) अन्तर्गत सहकार्यलाई विस्तार गर्ने तयारी रहेको जनाएका छन्।

सिआओ चीको नेतृत्वमा आएको प्रतिनिधिमण्डल केही दिन नेपालमै रहनेछ र विभिन्न सरकारी तथा राजनीतिक व्यक्तित्वहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ।