काठमाडाैं — परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र भारतका वन, वातावरण तथा जलवायु परिवर्तन मन्त्री भुपेन्द्र यादवबीच शुक्रबार काठमाडौंमा साइडलाइन भेटवार्ता सम्पन्न भएको छ। भारतका मन्त्री यादव सगरमाथा संवादको अवसरमा नेपाल आएका हुन्।

भेटवार्तामा दुवै पक्षले जलवायु परिवर्तन, हिमाली वातावरणको संरक्षण, जैविक विविधता र क्षेत्रीय सहयोगका विषयमा गहिरो छलफल गरेका थिए। मन्त्री राणाले यादवलाई जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा आयोजना हुने पाँचौँ संस्करणको सगरमाथा संवादमा सहभागी हुन औपचारिक निमन्त्रणा दिइन्।

दुवै मन्त्रीले जलवायु परिवर्तनको असर सबैभन्दा बढी हिमाली क्षेत्रमा परेकोमा चासो व्यक्त गर्दै यस क्षेत्रको संरक्षणमा नेपाल–भारतबीच सहकार्य आवश्यक रहेकोमा सहमति जनाए। त्यस्तै, दक्षिण एशियामा वायु प्रदूषण साझा चुनौती भएकाले समाधानका लागि संयुक्त पहल गर्नुपर्ने कुरामा पनि जोड दिइएको थियो।

नेपाल र भारतबीच वातावरण र जलवायु सम्बन्धी द्विपक्षीय समन्वयलाई अझ मजबुत बनाउने उद्देश्यले गरिएको यो भेटलाई कूटनीतिक वृत्तले सकारात्मक संकेतका रूपमा लिएको छ।