सर्वोच्चको आदेश : रवीन्द्र मिश्र रिहा, थुनामै त्रुटि भएको निष्कर्ष
२०८२ जेष्ठ २, शुक्रबार २१:३६
२ जेठ, काठमाडौं — राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र अब थुनामा बस्नुपर्ने छैन। सर्वोच्च अदालतले उनलाई गैरकानूनी रूपमा हिरासतमा राखिएको ठहर गर्दै थुनामुक्त गर्न आदेश दिएको हो।
शुक्रबार सुनाइएको आदेशमा अदालतले भनेको छ, “अनुसन्धानका लागि आवश्यक प्रमाणहरू पहिले नै संकलन भइसकेको अवस्थामा थुनामा राखिरहनुपर्ने कुनै कारण देखिँदैन।”
मिश्रको रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरिएको थियो। सोही रिटमाथि सुनुवाइ गर्दै अदालतले अनुसन्धानकै नाममा निरन्तर थुनामा राख्नु संविधानसम्मत नभएको उल्लेख गरेको छ।
स्रोतका अनुसार मिश्रमाथि लागेको आरोपबारे प्रारम्भिक प्रमाणहरू प्रस्ट भइसकेका थिए, तर उनीलाई अझै थुनामा राखिएको थियो। अदालतको यो आदेशसँगै मिश्रको थुनाबारे उठेका कानुनी प्रश्नहरू थप पुष्टि भएका छन्।
राजनीतिक वृत्तमा अदालतको निर्णयलाई मिश्रको पक्षमा आएको महत्वपूर्ण राहतको रूपमा हेरिएको छ। यससँगै शक्ति प्रयोग र नागरिक अधिकारबीचको सन्तुलनबारे बहस फेरि चर्किएको छ।




