सोलुखुम्बु — विश्वकै सर्वोच्च शिखर सगरमाथाको काखमा जलवायु संकट, हिमाली जीवनशैली र राज्यबाट अपेक्षाका विषयमा विशेष संवाद कार्यक्रम सम्पन्न भएको छ। शनिबार सम्पन्न उक्त संवाद नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माको पहल र संयोजनमा आयोजना गरिएको थियो।

देशकै ध्यान खिच्ने गरी सगरमाथा बेसक्याम्पमै आयोजना गरिएको यो संवादमा संघीय सरकारका दुईजना मन्त्री — गृहमन्त्री रमेश लेखक र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रि पाण्डे — प्रत्यक्ष उपस्थित भएर सहभागिता जनाएका थिए। उनीहरूले हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको प्रभावबारे स्थानीयको अनुभूति सुनेका थिए र आगामी नीतिगत पहलबारे धारणा व्यक्त गरेका थिए।

कार्यक्रममा हिमाली समुदायका प्रतिनिधिहरू, वातावरणविद्, पत्रकार, र समाजसेवीहरू समेतको उपस्थिति थियो। सहभागीहरूले जलवायु संकटसँग जुझ्न राज्यको भूमिकाबारे प्रश्न उठाएका थिए र दिगो पर्यटन तथा वातावरणमैत्री नीति निर्माणको माग गरेका थिए।

उक्त संवादले हिमाली जनजीवन र प्राकृतिक सन्तुलन जोगाउन राज्यको ध्यानाकर्षण गराएको बताइएको छ। संयोजक शर्माका अनुसार, “हिमालहरू मौन छन्, तर संकट तीव्र छ। अब आवाज उठाउनु जरुरी छ।”