मानगढ खानेपानी निर्वाचन: एकवर्षपछि टुंगियो विवाद, अध्यक्षमा लालमणी भट्टराई विजयी
२०८२ जेष्ठ १२, सोमबार १६:००
विराटनगर, जेठ १३ – राजनीतिक रस्साकस्सीको कारण एक वर्षदेखि अल्झिएको विराटनगर–३ स्थित मानगढ खानेपानी आयोजनाको विवाद अन्ततः समाधान भएको छ। उपभोक्ता संस्थाको नेतृत्वका लागि सम्पन्न निर्वाचनमा लालमणी भट्टराई अध्यक्ष पदमा निर्वाचित भएका छन्।
निर्वाचनमा भट्टराईले १,८८९ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी राम बहादुर घिमिरेलाई ७३५ मतले पराजित गरे। अर्की उम्मेदवार दुर्गा चापागाईँले ६३५ मत मात्र प्राप्त गरिन्।
यो निर्वाचनले नेकपा एमाले भित्र लामो समयदेखि चलिरहेको विवाद पनि सुल्झाएको छ। एक वर्षअघि एमाले संगठनले घिमिरेलाई आधिकारिक उम्मेदवार बनाएकोमा तत्कालीन महानगर प्रमुख सागर थापाले भट्टराईलाई समर्थन गरेपछि पार्टीभित्र गम्भीर मतभेद चुलिएको थियो।
थापासँगै उपसचिव नवराज नेपाल समेत कारबाहीमा परेका थिए। अहिले भने ढकाल–थापा पक्षको पकड मजबुत बनेको देखिएको छ।
निर्वाचनका अन्य नतिजा यस्ता छन्:
महिला उपाध्यक्ष: सावित्रा पोखरेल (१,२०३ मत) – चापागाईँ प्यानल
खुला उपाध्यक्ष: भोलानाथ घिमिरे (१,३६१ मत) – चापागाईँ प्यानल
सचिव: प्रदीप कुमार नेपाल (१,६७९ मत) – भट्टराई प्यानल
कोषाध्यक्ष: सरोज घिमिरे (९६५ मत)
महिला सदस्य: शान्ति बस्नेत रिजाल (१,१४९), अञ्जु तिम्सिना कटुवाल (१,१५७) – दुबै भट्टराई प्यानल
खुला सदस्य: केशवप्रसाद आचार्य (१,०४६) – घिमिरे प्यानल, चुडामणि खतिवडा “वसन्त” (१,०४८) – स्वतन्त्र
निर्वाचनमा कुल ५,९८८ मतदाता मध्ये ३,९६४ जनाले (६६%) मतदान गरेका थिए।
यो निर्वाचनसँगै मानगढ खानेपानी आयोजनामा नयाँ नेतृत्व स्थापना भएको छ, जसले अबका दिनमा स्थायित्वसहित उपभोक्ता सेवामा सुधार ल्याउने अपेक्षा गरिएको छ।




