गाँजाखेतीलाई मान्यता दिनुपर्ने माग : रामकुमार खत्री
२०८२ जेष्ठ १७, शनिबार १५:१०
कोशी प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य रामकुमार खत्रीले गाँजाको खेतीलाई आधिकारिक मान्यता दिनुपर्ने माग गरेका छन्।
शुक्रबार बसेको प्रदेशसभा बैठकको शून्य समयमा बोल्दै उनले गाँजा खेतीलाई वैधानिक बनाएर मुलुकको विकास र समृद्धिको बाटो खोल्न सकिने धारणा व्यक्त गरे।
“आज विश्वका धेरै मुलुकहरूले गाँजालाई वैधानिक मान्यता दिइसकेका छन्,” खत्रीले भने, “अमेरिकाका ५० मध्ये ३३ वटा राज्यमा गाँजाको खेती सञ्चालनमा आएको छ। फिनल्याण्ड, नर्वे, डेनमार्क, इजरायल लगायतका देशहरूले पनि यसलाई मान्यता दिएका छन्। हामीले पनि अब यस दिशातिर अगाडि बढ्नुपर्छ।”
उनका अनुसार, गाँजाबाट औषधि उत्पादन, निर्यात र उद्योगको विकासमार्फत नेपालले उल्लेखनीय आर्थिक लाभ लिन सक्नेछ। खत्रीले सरकारले गाँजालाई केवल नशालु पदार्थका रूपमा मात्र नभइ आर्थिक सम्भावनाको स्रोतको रूपमा पनि हेर्नुपर्ने बताए।
यसै क्रममा खत्रीले कोशी प्रदेशमा बाढी तथा प्राकृतिक प्रकोपको जोखिम बढिरहेको बताउँदै विपद् व्यवस्थापनमा सरकार गम्भीर नभएको आरोप लगाए।
“जब धनजनको क्षति हुन्छ, अनि मात्र सरकार चलायमान हुने अवस्था आउँछ,” उनले भने, “बाढी र विपद्को सामना गर्न भनेर छुट्याइएको बजेट किन कार्यान्वयन भएको छैन भन्ने प्रश्न उठ्छ।”
सदस्य खत्रीले हालैको प्रदेशसभा बैठकमा बोल्दै बाढीको प्रकोप नियन्त्रणमा विशेष चासो व्यक्त गरेका छन्। उनले क्षति पुगेका क्षेत्रहरूमा क्षतिपूर्ति उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराए।
त्यस्तै, किसानले उत्पादन गरेको दूधको भुक्तानी नपाएको र खरीदमा समस्या आएको भन्दै खत्रीले सरकारलाई यथाशीघ्र समस्या समाधान गर्न आग्रह गरे। “किसानहरूको श्रमको सम्मान गरिनुपर्छ,” खत्रीले भने, “दूध संकलन, भुक्तानी र मूल्य निर्धारण प्रणाली सुधार आवश्यक छ।”
उनले प्रदेश सरकारबाट प्रभावकारी नीति तथा तत्कालीन राहत व्यवस्था ल्याउन माग गरेका छन्।




