लेउती खोलामा आएको बाढीले बगाएको धरान–धनकुटा सडकखण्ड अस्थायी रूपमा एकतर्फी सञ्चालनमा
२०८२ जेष्ठ १७, शनिबार २१:०६
अविरल वर्षाका कारण लेउती खोलामा आएको बाढीले कोशी राजमार्गअन्तर्गत धरान–धनकुटा सडकखण्डको एक भाग बगाएपछि अवरुद्ध भएको सडक आज साँझदेखि अस्थायी रूपमा एकतर्फी सञ्चालनमा आएको छ।
साँगुरीगढी गाउँपालिका–६ स्थित फेदी मूलघाट नजिकै खोलाको पानीले सडक कटान गरेपछि राजमार्ग आज बिहानैदेखि पूर्ण रूपमा अवरुद्ध भएको थियो। सडक बग्दा यात्रुहरू र सवारी साधनहरु अलपत्र परेका थिए।
कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीमबहादुर दाहालका अनुसार अस्थायी डाइभर्सन निर्माण गरी आज साँझदेखि एकतर्फी सवारी आवागमन सुरु गरिएको छ। “स्थायी मर्मत कार्य भने अझै आवश्यक छ,” उनले बताए।
प्रहरी, नेपाली सेना, सडक डिभिजन र स्थानीयवासीको सहयोगमा डाइभर्सन निर्माण कार्य गरिएको हो। बाढीका कारण स्थानीयवासीलाई समेत सतर्क रहन आग्रह गरिएको छ।
सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउन केही दिन लाग्ने अनुमान गरिएको छ।




