अब किन्ने–बेच्ने दुवैको बैंक स्टेटमेन्ट अनिवार्य, नगद कारोबारमा पनि कडाइ

काठमाडौं – सरकारले घरजग्गा कारोबारमा कालोधनको प्रयोग रोक्न नयाँ व्यवस्था लागू गरेको छ। अबदेखि मालपोत कार्यालयमा जग्गा खरिदबिक्री दर्ता गर्दा क्रेता र बिक्रेता दुवैले आफ्नो बैंक स्टेटमेन्ट अनिवार्यरूपमा पेश गर्नुपर्नेछ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको भूमि प्रशासन विभागले देशभरका मालपोत कार्यालयहरूलाई सर्कुलर पठाउँदै तत्काल कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो।

 के के छन् नयाँ व्यवस्था?

बैंक स्टेटमेन्ट: जग्गा किन्ने र बेच्ने दुवैले आफ्नो खाता नम्बर, कारोबारको विवरणसहितको बैंक स्टेटमेन्ट पेश गर्नुपर्नेछ।

१० लाखभन्दा बढी नगद कारोबार प्रतिबन्धित

नगदमा कारोबार गर्न नपाइने; सोभन्दा माथिको कारोबार अनिवार्यरूपमा बैंकिङ च्यानलमार्फत गर्नुपर्नेछ।

३ करोडभन्दा बढीको कारोबारमा रिपोर्टिङ अनिवार्य: एकैदिन ३ करोड रुपैयाँ वा सोभन्दा बढीको कारोबार भएमा नेपाल राष्ट्र बैंकलाई रिपोर्ट गर्नुपर्ने।

KYC विवरण अपलोड अनिवार्य: दुवै पक्षले आफ्नो KYC (Know Your Customer) फारम अनिवार्यरूपमा भरिसकेर प्रणालीमा राख्नुपर्नेछ।

 किन गरिएको यस्तो व्यवस्था?

नेपाल हाल अन्तर्राष्ट्रिय नियामक संस्था FATF (Financial Action Task Force) को ग्रे-लिस्टमा परेको छ। सो सूचीबाट बाहिरिन सरकारलाई कालोधन नियन्त्रण र पारदर्शी आर्थिक कारोबार देखाउन दबाब छ। यही सन्दर्भमा सरकारले यो नीति ल्याएको हो।

पालना नगर्ने कर्मचारीलाई कारबाही

विभागले मालपोत कार्यालयहरूलाई निर्देशन दिँदै भनेको छ — “यदि कसैले यो निर्देशन पालना नगरेमा उसलाई जिम्मेवार ठहर गरिनेछ।”

“घरजग्गा क्षेत्रमा विगतदेखि नै कालोधनको व्यापक प्रयोग हुँदै आएकोमा सरकारले अब नयाँ नीतिका माध्यमबाट सशक्त नियन्त्रणको संकेत दिएको छ। यदि यो प्रभावकारी ढंगले लागू गरियो भने देशको सम्पत्ति कारोबार पारदर्शी र दिगो बन्नेछ।”