झापा, काँकडभिट्टा | २०८१ जेठ चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो १० महिनामा पूर्वी नाका काँकडभिट्टाबाट १६ अर्ब १९ करोड १५ लाख रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ।

 मेची भन्सार कार्यालयका अनुसार पेट्रोल, डिजेल, मट्टितेल तथा एलपी ग्यास मुख्य रूपमा भारतबाट नेपाल भित्रिएका हुन्।

भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंले विराटपाटी अनलाइन पत्रिकालाई जानकारी दिएअनुसार यो तथ्यांक गत आर्थिक वर्षको सोही अवधिसँग तुलना गर्दा करीब ५.४० प्रतिशतले कम हो। “गत वर्षको यो अवधिमा पेट्रोलियम आयात १७ अर्ब १० करोड रुपैयाँको हाराहारीमा थियो,” हुमागाईंले बताए।

उनका अनुसार चालु वर्षको १० महिनासम्म ९१ करोड ७७ लाख रुपैयाँले घटेर कुल आयात रकम १६ अर्ब १९ करोड १५ लाख रुपैयाँमा सीमित भएको हो।

विश्लेषकहरूका अनुसार पेट्रोलियम आयातमा देखिएको यो गिरावट पछिल्लो समय सवारी साधनको खपतमा कमी, अन्तर्राष्ट्रिय बजारमा मूल्य समायोजन, तथा आयात प्रक्रियामा देखिएको प्रशासनिक कडाइसँग सम्बन्धित हुनसक्छ।

यद्यपि, अझै पनि काँकडभिट्टा नाका पेट्रोलियम आपूर्तिको महत्त्वपूर्ण प्रवेश बिन्दु रहँदै आएको छ। भन्सार कार्यालयले आगामी महिनाहरूमा आयात प्रवृत्तिमा फेरि वृद्धि हुने अनुमान गरेको छ।