किरातकालीन इतिहासको गर्विलो सम्झना बोकेर खोटाङको बुइपामा यलम्बरको ११० फिट अग्लो प्रतिमा ठडिएको छ। कोशी प्रदेशको ऐतिहासिक भूमि बुइपा अब केवल एउटा गाउँ मात्र होइन, किरात सभ्यताको प्रतीक स्थल बन्ने तयारीमा छ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ मा अवस्थित ३० रोपनी सरकारी जमिनमा निर्माण गरिएको “यलम्बर पार्क” मा किरात नायक यलम्बरको भव्य प्रतिमा सँगै हरियाली, विश्राम स्थल, र पर्यटक आकर्षणका संरचनाहरू समेत तयार पारिएका छन्।

यो महत्वाकांक्षी परियोजना करिब १४ करोड रुपैयाँको लागतमा सम्पन्न गरिएको हो। निर्माणमा कोशी प्रदेश सरकारले ७०%नगरपालिकाले ३०% लगानी गरेका छन्। परियोजना निर्माणको जिम्मा उमा–तुवाचुङ–अनसुवी जेभी ले लिएको थियो।

यस परियोजनाको मूल उद्देश्य भनेको किरात सभ्यता र यलम्बरजस्ता ऐतिहासिक व्यक्तित्वको योगदानलाई भावी पुस्तासम्म सजीव राख्नु हो। साथै, खोटाङलाई पर्यटकीय केन्द्रका रूपमा स्थापित गर्ने सपना पनि यसका साथ जोडिएको छ।

पार्कमा आगन्तुकका लागि इन्टरलक पाथ, विश्राम स्थल, फोहोर व्यवस्थापन, प्रकाश सजावट, फास्टफुड क्याफे, र भविष्यमा वाइफाइ जडानको योजना समेत रहेको बताइएको छ।

यद्यपि केही स्थानमा पुरातात्विक संरचना भेटिएकाले स्थानीय स्तरमा छलफल र समायोजन गरिएको थियो। तर अन्ततः सहमतिमै निर्माण कार्य सम्पन्न गरिएको हो। अब प्रमुख चुनौती भनेको यसको दीर्घकालीन व्यवस्थापन र प्रचार–प्रसार हो।

“किरात गौरवको पुनर्जागरण खोटाङबाट सुरु भएको छ। यलम्बरको ११० फिट उचाइ, हाम्रो इतिहासको आत्मसम्मान जस्तै उचो होस् भन्ने कामना अपेक्षा सबैले गरेको देखिन्छ ।